६ जेष्ठ २०८१, आइतबार

गठबन्धनको निर्देशन : वैशाख ४ गतेभित्र तालमेलको टुंगो लगाउनू


सत्ता गठबन्धन बैठक

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठकले वैशाख ४ गतेभित्र उम्मेदवारको टुंगो लगाउन निर्देशन दिएको छ । सत्तारुढ पाँच दलले स्थानीय निर्वाचनका लागि तालमेलको मोडालिटी टुंग्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बसेको बैठकले स्थानीय तहलाई वैशाख ४ गतेभित्र गठबन्धन र उम्मेदवारको टुंगो लगाउन निर्देशन दिएको हो ।

सत्ता गठबन्धनको यसअघि बसेको बैठकले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्था अनुसार तालमेल मिलाएर आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका थिए ।

गठबन्धनको बैठकले आफ्ना साझा उम्मेदवारलाई मतदान गर्न अपिल गर्ने निर्णय समेत गरेको थियो । गठबन्धनका प्रमुख शीर्ष नेताहरुले एक अपिल जारी गर्दै आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्ने बताएका थिए ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्दै अपिल गरेका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको संयन्त्रको आइतबार सम्पन्न बैठकले पाँच दलीय गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरी गठबन्धनको भावना र आपसी समन्वय गर्दै सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !