५ जेष्ठ २०८१, शनिबार

सत्ता गठबन्धनको निर्वाचन समितिले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाइँदै


सत्ता गठबन्धनको निर्वाचन समिति फाइल फोटो

काठमाडौं । सत्तारुढ गठबन्धन दलको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिले आज पार्टीका शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाइँदै छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समितिले सबै स्थानीय तहको राजनीतिक अवस्थाबारे तयार पारेको सुझावसहितको प्रतिवेदन गठबन्धनका शीर्ष नेताहरुसमक्ष बुझाउन लागेको हो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको संयन्त्रको आइतबार सम्पन्न बैठकले पाँच दलीय गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरी गठबन्धनको भावना र आपसी समन्वय गर्दै सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको थियो ।

नेता पौडेल नेतृत्वको सो समितिले सबै दलको स्थानीय तहमा रहेको पछिल्लो अवस्थाबारे संकलन गरेको विवरणका आधारमा तयार पारेको सुझावसहितको प्रतिवेदन गठबन्धनका शीर्ष नेतालाई बुझाउने भएको हो ।

उक्त समितिले स्थानीय तहमा तालमेलको आवश्यकता र सम्भावनाका बारेमा अध्ययन गरेको थियो । प्रदेश र जिल्लाले यही चैत मसान्तभित्र पाँच दलीय बैठक राखी सहमति कायम गरेर केन्द्रमा पठाउने निर्णयसमेत गरिएको थियो ।

गठबन्धनमा आवद्ध दलहरु कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल आवद्ध दलहरु स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयपछि उक्त प्रतिवेदन तयार पारिएको हो ।

चुनावी तयारी तथा परिचालन समितिमा कांग्रेसको तर्फबाट महामन्त्री गगनकुमार थापा र संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रको तर्फबाट नेताहरु वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीको तर्फबाट महासचिव वेदुराम भुसाल र विजय पौडेल, जनता समाजवादी पार्टीको तर्फबाट अशोक राई र मन्त्री रेणु यादव तथा राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरी सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !