७ बैशाख २०८१, शुक्रबार

कानूनमन्त्री बडूको जिम्मेवारी हेरफेर, उद्योग मन्त्रालयको जिम्मेवारी दिइने


दिलेन्द्र प्रसाद बडू

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को हेरफेर गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले अधिवक्ता गोबिन्द बन्दीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा सिफारिस गरेका छन् ।

प्रधानमन्त्री देउवाले बन्दीलाई कानूनमन्त्री बनाउने भएपछि यसअघि उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने भएका छन् । उक्त मन्त्रालय लामो समयदेखि प्रधानमन्त्री देउवाले आफैंसँग राखेका थिए ।

प्रधानमन्त्री देउवाको सिफारिसमा आज बिहीबार अधिवक्ता बन्दी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले नेकपा एकीकृत समाजवादीका तत्कालिन केन्द्रीय सदस्य समेत रहेका गैर सांसद बन्दीलाई राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नयाँ मन्त्री नियुक्तिको लागि सिफारिस गरेका हुन् ।

बन्दीले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारलाई सत्ताच्यूत गर्न कानूनी रुपमा महत्वपूर्ण भूमिका खेलेका थिए । यद्यपि प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालय आफूसँगै राखेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।

नवनियुक्त मन्त्री बन्दीको सपथका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्री कार्यालय बालुवाटारले राष्ट्रपति कार्यालय शीतल निवासलाई जानकारी समेत गराइसेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !