७ जेष्ठ २०८१, सोमबार

निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा राजनीतिक दलका नेताद्वारा हस्ताक्षर


निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरु

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा राजनीतिक दलका नेताहरुले हस्ताक्षर गरेका छन् । स्थानीय निर्वाचनको लागि प्रतिबद्धतापत्रमा आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको भन्दै राजनीतिक दलका नेताहरूले हस्ताक्षर गरेका हुन् ।

निर्वाचन आयोगले छलफलका लागि फेरि बोलाउने प्रतिबद्धता जनाएपछि साना राजनीतिक दलका नेताहरु हस्ताक्षर गर्न सहमत भएका हुन् । आयोगले साना दलहरुको गुनासो सुन्नुपर्ने ती दलका नेताहरुले बताएका छन् । यद्यपि आयोगले स्थानीय निर्वाचनमा भाग लिने दलका नेताहरुलाई आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न आज मंगलबार बोलाएको बैठकमै चरम विवाद र चर्काचर्की भएको थियो ।

निर्वाचन आयोगमा साना दलहरूले आचारसंहिता बनाउँदा आफूहरूलाई जानकारी नगराएको र हस्ताक्षर मात्रै गर्न बोलाइएको भन्दै ती दलका नेताहरुले विरोध प्रकट गरेका थिए । ६ दल र निर्वाचन आयोगको सिन्डिकेटबाट आचारसंहिता निर्माण भएकोमा साना दललाई थाहा नदिएर हस्ताक्षर मात्रै गर्न बोलाएकोले साना दलका नेताहरु आक्रोशित भएका थिए ।

निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन आज मंगलवार बोलाएको थियो । साना दलका नेताहरुले उठेर आपत्ति जनाउन थालेपछि केहीबेर बैठक नै स्थगित समेत भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !