काठमाडौं । वर्तमान सत्ता गठबन्धनको बैठक भोलि बस्ने भएको छ । आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक भोलि बिहान ११ बजे बस्न लागेको हो ।
भोलिको बैठकमा स्थानीय निर्वाचनमा राजनीतिक भागबन्डाका लागि सत्ता गठबन्धनका दलहरूले कुन-कुन ठाउँमा कसरी चुनावी तालमेल गर्ने भन्ने बारेमा रणनीति बनाउने प्रवल सम्भावना रहेको छ ।
स्थानीय निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पक्कड दर्बिलो भएको ठाउँमा गठबन्धन गरेर एमालेलाई हराउने रणनीतिमा सत्ता गठबन्धनका दलका शीर्ष नेताहरू रहेका छन् भने यता एमाले गठबन्धन नगरी एक्लै निर्वाचनमा होमिन लागेको छ ।
आमागी स्थानीय तहको चुनाव भनेको काँग्रेस र एमालेको भन्दा पनि एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एमालेवाट टुक्रिएर बनेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालवीचको अस्तित्वको संघर्षको लागि जुँगाको लडाई हुने देखिएको छ ।
प्रमुख सत्तारुढ दल कांग्रेसले हिजो चैत्र १५ गते मंगलबार आवश्यकताको आधारमा स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो । हिजो बसेको काँग्रेस केन्द्रीय समिति बैठकले आवश्यकता अनुसार स्थानीय निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको थियो ।
माओवादी र एकीकृत समाजवादीले चुनावी गठबन्धनबारे केन्द्रबाटै निर्णय लिने भएपनि कांग्रेसले भने महानगरबाहेक स्थानीय आवश्यकताअनुसार स्थानीय कमिटीलाई निर्णय गर्न दिने निर्णय गरेको छ ।
यो पनि पढ्नुहोस्
आवश्यकताको आधारमा स्थानीय निर्वाचनमा तालमेल गर्ने कांग्रेसको निर्णय