२० पुस २०८१, शनिबार

ओलीको दावी : सबै दल मिलेर आए पनि एमालेलाई जित्न सक्दैनन्


केपी शर्मा ओली

चन्द्रौटा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने दावी गरेका छन् । कपिलवस्तुको तौलिहवामा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मुलुकको विकास गर्नका लागि एमालेले जित्नुपर्ने उल्लेख गरे ।

नेपाली कांग्रेस र अन्य दलबीच सरकार टिकाउन मात्र गठबन्धन गरिएको उनले आरोप लगाए । शिक्षा, स्वास्थ्य, कृषि, विमानस्थल निर्माणलगायत काम आफ्नो पालामा भएको अध्यक्ष ओलीले दाबी गरे ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा एमालेको जितलाई कसैले रोक्न नसक्ने बताए । आजै एमालेमा प्रवेश गर्नुभएका सांसद वृजेशकुमार गुप्ताले मधेसको विकास र मधेसीको हितमा काम गर्ने दल एमाले मात्र भएको उल्लेख गरे ।

सो अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवात्सव, कपिलवस्तु नगरपालिकाका पूर्वनगर प्रमुख रामदास गुप्ता, पूर्वउपप्रमुख वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका–१ का वडाध्यक्ष सुदीप पौडेल, वडा नं ४ वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नं १२ का वडाध्यक्ष ओमप्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका–६ वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका–८ अध्यक्ष साहबुद्दिन मुसलमानलगायत एमालेमा प्रवेश गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !