४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री यीवीच बालुवाटारमा शिष्टाचार भेट


शेरबहादुर देउवा र वाङ यी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा हिजो आएका चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङवीच आज शिष्टाचार भेट भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री यीवीच आज शिष्टाचार भेट भएको हो ।

आज साँझ एक घण्टा भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले जानकारी दिए । भेटमा नेपाल र चीनबीचको सम्बन्ध पुरानो तथा मैत्रीपूर्ण रहेको, अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले एकअर्काका चासो र हितका विषयमा समर्थन गर्नेलगायत विषयमा कुरा उठान भएको उनले बताए ।

चीनसँगको नेपालको व्यापार घाटा, चीनसँगका तातोपानी र रसुवा नाका सञ्चालन गर्ने, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन कोभिड–१९ का कारण पूरा हुन नसकेको अवस्थामा त्यसलाई सहजता बनाउने लगायत विषयमा पनि दुवै पक्षबीच सौहार्द रुपमा छलफल भएको थियो । सोही अवसरमा पोखरा विमानस्थलमा चीनको ऋण सहयोगमा चिनियाँ पक्षले सम्पन्न गरेको प्राविधिक पक्षको काम नेपाललाई हस्तान्तरण गरिएको छ ।

परराष्ट्रमन्त्री डा. खड्काको मैत्रीपूर्ण निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आएका परराष्ट्रमन्त्री वाङ शुक्रबार यहाँ आइपुगेका हुन् । दुवै देशका परराष्ट्रमन्त्रीबीच आजै द्विपक्षीय वार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी ९ वटा समझदारीमा हस्ताक्षर पनि गरेका छन् ।

प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटपछि प्रधानमन्त्री र विदेशमन्त्री वाङको उपस्थितिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समापन समारोहको श्रव्यदृश्यका माध्यमबाट निरीक्षण गरेका छन् ।

आज शनिबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विदेशमन्त्री वाङले चीन-नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ताको नेतृत्व गरेका थिए । नेपाल र चीनका परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच शनिबार द्विपक्षीय वार्ता भएको छ ।

नेपाल र चीनबीच ९ बुँदे समझादारीपत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा ९ बुँदे समझादारीपत्रमा हस्ताक्षर भएको हो । आज समझदारीअघि परराष्ट्र मन्त्रीहरुवीच र प्रतिनिधिमण्डलस्तरमा पनि छलफल भएको थियो ।

नेपाल र चीनबीच नेपाल चीन अन्तरदेशीय रेल निर्माणको सम्भाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रसारणलाइन निर्माणका विषयमा समझदारी भएको छ । यस्तै, नेपालमा चिनियाँ स्वाथ्यकर्मीको टोलीले सेवा प्रवाह गर्ने, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपाललाई कोरोनाविरुद्धको आवश्यक खोप प्रदान गर्नेलगायत विषयमा समझदारी भएको हो ।

आजै शनिबार साँझ नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्ना चिनियाँ समकक्षीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् । सवै भेटघाट सकेर चिनियाँ विदेशमन्त्री वाङ भोलि आइतबार अपराह्न बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !