४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीवीच आज शिष्टाचार भेट हुँदै


शेरबहादुर देउवा र वाङ यी फाइल फोटो : चिनियाँ विदेश मन्त्रालयको वेभसाइटवाट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा हिजो आएका चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङवीच आज शिष्टाचार भेट हुँदै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री यीवीच आज दिउसो शिष्टाचार भेट हुने भएको हो ।

प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेपछि प्रधानमन्त्री र विदेशमन्त्री वाङको उपस्थितिमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समापन समारोहको श्रव्यदृश्यका माध्यमबाट निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

आज शनिबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विदेशमन्त्री वाङले चीन-नेपाल प्रतिनिधिमण्डलस्तरीय वार्ताको नेतृत्व गर्नेछन् । नेपाल र चीनका परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच शनिबार द्विपक्षीय वार्ता हुनेछ ।

वार्तापछि दुई देशबीच घाँस निर्यात लगायत पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । आजै शनिबार साँझ नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्ना चिनियाँ समकक्षीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् ।

परराष्ट्रमन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवलगायत सहभागी हुनेछन् ।

आइतबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शिष्टाचार भेट गर्नेछन् । त्यसपछि पूर्वप्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्नेछन् ।

चिनियाँ विदेशमन्त्री वाङ १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट हिजो राजधानी काठमाडौँ आइपुएक हुन् । काठमाडौं उत्रिएका वाङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै बत्तीसपुतलीस्थित द्वारिका होटेल पुगेका थिए ।

चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

विदेशमन्त्री वाङ नेतृत्वको प्रमण्डलमा नेपालका लागि चीनका राजदूत हउ यान्छी, चीनको विदेश मन्त्रालयका सहसचिव वु जिङवाओ, वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङ, विदेश मन्त्रालयको एशियाली मामिला विभागका महानिर्देशक लिउ जेनसङ, नायब शिष्टाचार महानिर्देशक सोङ जिया र विदेशमन्त्री याङका सचिव देङ झेइ रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सवै भेटघाट सकेर चिनियाँ विदेशमन्त्री वाङ भोलि आइतबार अपराह्न बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !