काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न सांसदहरुलाई विशेष अनुरोध गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदलाई संसद् बैठक अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएकामा जनता र राष्ट्रका समस्यामा सांसदहरुले छलफल गर्न नपाएकोप्रति ध्यानाकर्षण गराउँदै सो आग्रह गरेका हुन् ।
सभामुख सापकोटाले भने, “माननीय सदस्यहरुले मलाई पटक–पटक ध्यानाकर्षण गराएका छन् । संसद्लाई प्रभावकारी बनाउन आम रुपमा प्रश्न उठिरहेको छ ।” सभामा विचाराधीन रहेका ४२ विधेयकलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्या जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने, कानुन निर्माण एवं निगरानी गर्ने कार्यसमेत संसदमा जारी अवरोधका कारण प्रभावित हुन पुगेको छ ।
उनले विचाराधीन विधेयकहरुलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु सबैको दायित्व भएको बताए । एमालेले संसद्को चालु अधिवेशन सुरु भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदको सभामुखले सूचना टाँस नगरेको भन्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।