७ मंसिर २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक चैत २ गतेसम्मका लागि स्थगित


प्रतिनिधिसभाको बैठक फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभाको बैठक चैत २ गतेसम्म स्थगित भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार दिउसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोेध गरेको थियो । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले ‘रोस्ट्रम’ घेराउ’ गर्दै नाराबाजी गरेका छन् ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको नियमित प्रक्रियामा सहभागी भइ आफ्ना कुरा राख्न प्रतिपक्षी दलका सांसदसंग आग्रह गरेका थिए । एमालेका सांसदहरुले ‘संसदीय मर्यादा कायम गर’ भन्ने जस्ता नारा लगाएका थिए ।

एमालेको अवरोधका बाबजूद सम्भावित कार्यसूची अनुसार आज प्रतिनिधिसभा बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले ‘सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन, २०७८’ प्रस्ताव पेश गरेका छन् ।

यस्तै आज बसेको प्रतिनिधिसभा बैठकको बैठकमा नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २७५ को नियम १६१ को उपनियम (१) बमोजिम सांसदहरु देव प्रक्ष गुरुङ, पम्फा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसदहरु समर्थक भई प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने प्रस्ताव माओवादीका संसदीय दलका प्रमुख सचेतक एवं प्रस्तावक देव गुरुङले प्रस्ताव पेश गरेका छन् ।

चैत २ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावको बारेमा छलफल शुरु हुने पनि सभामुख सापकोटाले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !