७ मंसिर २०८१, शुक्रबार

व्याख्यात्मक घोषणाले एमसिसीको भ्रम हटाएको छ : श्रममन्त्री श्रेष्ठ


कृष्णकुमार (किसान) श्रेष्ठ

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणाले एमसिसीको भ्रम हटेको बताएका छन् । तनहुँको भानु नगरपालिका–३ तुरतुरेमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले एमसिसीका बारेमा जनतामाझ रहेको भ्रम व्याख्यात्मक घोषणाले हटाएको बताए ।

यथास्थितिमा एमसिसी संसद्बाट पारित गर्न नहुने पक्षमा नेकपा (एकीकृत समाजवादी) रहेपनि व्याख्यात्मक घोषणासहित पारित भएको विषयलाई अमेरिकाले पनि स्वीकार गरिसकेको बताए । विकासका लागि एमसिसी आवश्यक रहेको भन्दै श्रेष्ठले भने, “यो नेपालको हितमा छ, नेपालको विकासमा यसको समुचित प्रयोग गर्नुपर्छ ।”

जनताको सेवा र विकासका लागि नेकपा (एकीकृत समाजवादी) सदैव प्रतिबद्ध रहेको भन्दै श्रेष्ठले विकासको नेतृत्व आफ्नो पार्टीले गर्ने धारणा व्यक्त गरे । “हामीले राजनीति गरेको जनताका लागि हो, विकासका लागि हो, त्यसका लागि हामी सधैँ क्रियाशील रहन्छौँ”, उनले भने ।

जिल्लाको विकासका लागि आफू अहोरात्र खटिए पनि केही विरोधीले आफ्नो नामसमेत लिन नचाहेको भन्दै श्रेष्ठले भने, “विकास सबैका लागि हो, मैले गरेको कामको जस मलाई नदिए पनि म सन्तुष्ट नै हुन्छु ।”

मन्त्री श्रेष्ठले एमसिसीका विषयमा एमालेले दोहोरो भूमिका देखाएको आरोप लगाए । “एमसिसी गलत छ भनेर विपक्षमा मत दिएको भए पनि हुन्थ्यो, तर एमालेले कुनै भूमिका निभाएन”, मन्त्री श्रेष्ठले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !