५ जेष्ठ २०८१, शनिबार

व्याख्यात्मक घोषणाको भ्रम छर्दै राष्ट्रघाती एमसीसी संसदबाट अनुमोदन गराई छाडे : नेता श्रेष्ठ


नारायणकाजी श्रेष्ठ

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता प्रतिनिधिसभावाट पारित भएको दिनलाई कालो दिनको रुपमा टिप्पणी गरेका छन् ।

सामाजिक संजालमा आज राती लेख्दै संसदवाट एमसिसी सम्झौतामाथिको १२ बुँदे व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाको बैठकमा दफावार छलफल भएर संसदवाट अनुमोदन भएपछि नेता श्रेष्ठको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

उनले अन्तत: व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसिसी सम्झौता संसदबाट अनुमोदन गराई छाडेकोमा आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन् भनेर लेखेका छन् ।

नेता श्रेष्ठले सम्पुर्ण देशभक्त शक्तिहरु एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं भनेर आब्हान समेत गरेका छन् ।

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने गठबन्धनको तयारीप्रति यसअघि नै माओवादी केन्द्रका केहि नेताले असहमति जनाएका थिए । माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएका थिए ।

नेकपा (माओवादी केन्द्र) एमसिसी सम्झौतामा व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको थियो । आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।

यसअघि आज बिहान पनि नेता श्रेष्ठले ट्वीटरमा लेख्दै ५ दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन गर्ने जानकारी गराएको निर्णयप्रति उनले गम्भीर असहमति र आपत्ति रहेको जनाएका थिए । उनले आज बिहानको पार्टीको छलफलमा आफू लगायत केही नेताहरुले मतभेद राखि सकेकोले यो महाधिवेशनको बिरुद्ध र गलत भएको धारणा व्यक्त गरेका थिए ।

गत फागुन ४ गते बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा माओवादी केन्द्रका भातृ संगठनहरूले एमसिसीविरूद्ध प्रदर्शन गरेका थिए । माओवादी केन्द्रका नेता श्रेष्ठ पनि एमसिसीको विरोधमा प्रदर्शन गर्न सडकमा निस्किएका थिए । माओवादीभित्र श्रेष्ठले एमसिसी परियोजनाको विरोध गर्दै आएका थिए ।

उनले लेखेका छन्, ‘अन्तत ब्यख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसिसि सम्झौता संसदबाट अनुमोदन गराई छाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन् । सम्पुर्ण देशभक्त शक्तिहरु एकताबध्द होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं ।’

यो पनि पढ्नुहोस्

एमसीसीको विरोध प्रदर्शन गर्न सडकमा उत्रिए नारायणकाजी श्रेष्ठ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !