१ मंसिर २०८१, शनिबार

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, एमसीसीमा सहमति जुटेन


देउवा र प्रचण्डको भेटवार्ता फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्रीले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता प्रतिनिधिसभामा छलफल प्रारम्भ हुन लागेकाले सहयोग गर्न अध्यक्ष दाहाललाई आग्रह गरेका थिए ।

एमसीसीको संसदीय प्रक्रिया तत्कालका लागि रोक्न प्रचण्डले गरेको आग्रहलाई मान्न नसकिने भन्दै प्रधानमन्त्री देउवाले अस्विकार गरेका छन् । प्रचण्डले देउवालाई यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने भएकोले संसदमा थाती राख्न अनुरोध गरेका थिए ।

छलफलमा प्रधानमन्त्रीले एमसिसी सम्झौता पारित गर्न सहयोग गर्न अध्यक्ष दाहाललाई आग्रह गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसँग छलफल गरेलगत्तै अध्यक्ष दाहाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

सिंहदरबारको छलफलमा प्रतिनिधिसभामा आजदेखि शुरु हुन लागेको एमसिसी सम्झौताका सन्दर्भमा कसरी अगाडि बढ्ने भन्नेबारेमा विचारविमर्श भएको बताइएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा एमसिसी सम्झौताबारे सैद्धान्तिक छलफल हुने कार्यसूची तय भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !