४ जेष्ठ २०८१, शुक्रबार

एकीकृत समाजवादीले एमसीसीलाई संसद्‍मा टेबल गर्न दिने, पारित नगर्ने


एकीकृत समाजवादीको स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने भएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा एमसीसीबारे ठोस धारणा बनाउन बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

सहरी विकास मन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको जानकारी दिएकी हुन् ।

तर यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । यसलाई संशोधन गरेरमात्र पारित गर्न सकिने पार्टीको धारणा रहेको उनले स्पष्ट पारे ।

यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिए । जबरजस्ती टेबल गर्न नदिन आफूहरूको कोसिस रहने तर त्यसो गरिए त्यसबारे आवश्यक निर्णय सचिवालयले गर्ने खतिवडाको भनाइ छ ।

एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनबीच नै खटपट भई रहेको बेला नेकपा (एस) ले गठबन्धन जोगाउने मध्यमार्गी बाटो अवलम्वन गर्ने रणनीति अपनाएको छ । यसअघि नेकपा (एस) ले संसद्‌मा टेबुल गर्न नदिने अडान लिंदै आएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी संसदमा टेवुल गराउन लागि परेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवादमा तीब्रता दिएपछि नेकपा (एस) गलेको हो ।

एमाले र कांग्रेसबीचको सम्भावित वैकल्पिक गठबन्धनको बन्‍ने जोखिम भएपछि नेकपा (एस) बीच बाटो अपनाउँदै एमसीसी टेबुल गर्न दिने निर्णयमा पुगेको हो । स्थायी कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे १६ बुँदे व्याख्या गर्दै अन्तिममा टेबुल गर्न दिने निष्कर्ष सुनाएका थिए ।

एकीकृत समाजवादीको सचिवालय बैठकले एमसीसी जबर्जस्ती संसदमा टेवुल गराएर अघि बढाए विपक्षमा मतदान गर्ने निष्कर्षमा पुगेको थियो । सचिवालय बैठकले निकालेको उक्त निष्कर्षलाई आज बसेको स्थायी कमिटीबाट आधिकारिक निर्णय गर्ने तयारी एकीकृत समाजवादीले गरेको थियो ।

यसअघि यथास्थितिमा एमसीसी संसदवाट पास गर्न नसकिने भन्दै अडान राख्दै आएका प्रचण्ड र नेपालवीच यदि सरकारले एमसीसी जबर्जस्ती अघि बढाए सरकारवाट बाहिरिने तयारीसम्मको छलफल भएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेवुल गराएर जबर्जस्ती पास गर्न खोजेमा सरकारवाट बाहिरिनसम्मको तयारी गरेका थिए ।

प्रधानमन्त्री देउवा एमसीसी संसदमा टेवुल गर्ने पक्षमा छन् भने प्रचण्ड र नेपाल यसको बिपक्षमा रहेका छन् । एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र मतभेद भएकाले वर्तमान सत्ता गठबन्धन संकटमा परेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । प्रधानमन्त्री देउवा विहीबार बेलुकी पत्नी आरजुसहित ओली निवास बालकोट पुग्नुले राजनीतिक तंरग पैदा भएको छ भने प्रचण्ड र नेपाललाई एमसीसीमा सहमत हुन नैतिक दवाव बढेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !