४ असार २०८१, मंगलबार

शेखरले देउवालाई दवाव दिंदै भने- देशकै नेतृत्व गर्ने काँग्रेस संक्रीर्णताले चल्दैन


डा. शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसको सभापति पदका प्रत्यासी एवं नेता डा. शेखर कोइरालाले देशकै नेतृत्व गर्ने काँग्रेस संक्रीर्णताले चल्न नसक्ने भन्दै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई थप दवाव दिएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता कोइरालाले आफ्नो धारणा राख्दै सभापति देउवासमक्ष ५ बुँदे प्रस्ताव पनि राखेका छन् ।

नेता कोइरालाले विना भेदभाव पार्टी सञ्चालन गर्ने, भ्रातृ संस्थालाई विधिअनुसार काम गर्ने स्वतन्त्रता दिने, अन्य दलसँग चुनावी गठबन्धन नगर्ने, एमसीसी अनुमोदन गर्ने र क्रियाशील सदस्यता वितरण अहिलेदेखि नै सुरु गर्नेगरी ५ बुँदे प्रस्ताव अघि सारेर सभापति देउवालाई टक्कर दिएका हुन् ।

उनले देशकै नेतृत्व गर्ने लोकतान्त्रिक पार्टी कांग्रेसको नेतृत्वले संकिर्णता र गुटमा आधारित हुँदा त्यसले सिंगो पार्टीलाई कमजोर बनाउने पनि उल्लेख गरेका छन् । उनले देशकै नेतृत्व गर्ने पार्टीले गुट र भागबण्डामा रमाउँदा त्यसले पार्टी र लोकतन्त्रलाई नै कमजोर पर्ने उल्लेख गरेका छन् ।

यस्तै कोइरालाले अबको निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा जानुपर्ने बताएका छन् । उनले स्थानीय तहको निर्वाचन घोषणा भइसकेकोले काँग्रेसले गाउँदेखि सहरसम्म सबै स्थानीय निकायमा लोकप्रिय, क्षमतावान, इमान्दार र पार्टीमा योगदान पुर्‍याएका साथीहरूलाई बिना भेदभाव र पूर्वाग्रहरहित तरिकाले उम्मेदवार चयन गर्न सकेमात्र काँग्रेसको जीत सुनिश्चित हुने बताए ।

यसैगरी कांग्रेसका पूर्वमहामन्त्री एवं नेता डा. शशांक कोइरालाले हिजो बिहिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकमा आफ्ना धारणा राख्दै आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए । कोइरालाले स्थानीय निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धामा जानुपर्ने बताएका थिए ।

यसरी शेखरले पनि आगामी निर्वाचनमा कांग्रेस एक्लै जानुपर्ने भन्दै शशांकको धारणालाई समर्थन गरेका हुन् । आगामी स्थानीय निर्वाचनमा काँग्रेस एक्लै लड्ने वा वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गरेर जाने भन्ने काँग्रेसमा दुविधा बढिरहेको बेला दुई भाई कोइरालाको उक्त विषयमा आएको एकै स्वरले पार्टी सभापति देउवालाई थप दवाव सिर्जना भएको छ ।

यो पनि पढ्नुहोस्

शशांकको धारणालाई समर्थन गर्दै शेखरले भने- चुनावी मैदानमा कांग्रेस एक्लै जानुपर्छ

स्थानीय निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्नु नहुने शशांकको जोड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !