काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार आज सोमबार दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने प्रवल सम्भावना रहेको छ । आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बताएका थिए ।
निर्वाचन आयोगले सरकारलाई आगामी जेठ ४ गते बुधबार स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न परामर्श दिएको थियो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीको पदावधि जेठ ५ मा समाप्त हुने भएकाले सोअगावै निर्वाचन गर्नुपर्ने विषय जानकारी गराएको थियो ।
नेपालको संविधानको धारा २१५ को उपधारा (६), धारा २१६ को उपधारा (६), धारा २२० को उपधारा (५) तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ र दफा ५५ बमोजिम सम्पन्न गर्नु सरकार तथा निर्वाचन आयोगको संवैधानिक एवं कानुनी दायित्व रहेको व्यहोरा अवगत गराएको थियो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले आयोगको परामर्शअनुसार प्रस्तावित मितिमा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न आवश्यक प्रक्रिया पूरा गरी निर्वाचनको मिति तोकिने जानकारी गराएका थिए । उनले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारीका कार्य गर्न निर्वाचन आयोगलाई आग्रह गर्दै गृह मन्त्रालयलाई आवश्यक सुरक्षा बन्दोबस्त मिलाउनसमेत निर्देशन दिएका थिए ।