१९ असार २०८१, बुधबार

प्रचण्डले नै नेपालमा पहिलो पटक एमसीसी ल्याएको ज्ञानेन्द्र शाहीको खुलासा


माओवादी केन्द्र

काठमाडौं । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले पहिलोपटक नेपालमा अमेरिकी सहयोग सम्झौता एमसीसी भित्राउने व्यक्ति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको दाबी गरेका छन् ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शाहीले २०६८ सालमा तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा वर्षामान पुन ‘अनन्त’ले एमसीसीको खाका तयार पारेको सुनाएका हुन् ।

तत्कालिन प्रधानमन्त्री (वर्तमान प्रधानमन्त्री) शेरबहादुर देउवा र तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले संसद्बाट पारित गर्न भनेर पछि मात्र हस्ताक्षर गरेको उनले जिकिर गरे । उनले भने,‘नेपालमा एमसीसीको जग अरु कसैले नभई कांग्रेस र माओवादीले बसाएका हुन् ।’

‘नेपालमा पहिलोपटक एमसीसी भित्राउने प्रचण्ड नै हुन् । तर, तिनै प्रचण्डले कहिले एमसीसीको विरोध गर्छन् कहिले समर्थन गर्छन्’ कार्यक्रममा बोल्दै उनले भने,‘त्यस्तै एमालेले पनि हिजो सरकारमा हुँदा संसद्बाट पारित गर्न खोजेको थियो, आज विरोध गरिराखेको छ, यो नेताहरुको रङ भनेको छेपाराको रङ जस्तो हुने रैछ, हामी बुझ्नै सक्दैनांै ।’

कसैलाई राजनीतिक फाइदा लिन, कसैलाई आर्थिक र कसैलाई काम मात्रै अट्काउन नेताहरुको सोचले नेपालीहरु यो अवस्थामा पुगेका उनले जिकिर गरे । देशको सबै जनता एमसीसीको विरुद्धमा हुँदाहुँदै पनि सरकारले पारित गर्न खोजेमा लोकतन्त्र र राज्य माथिको अपमान हुने उनको भनाई थियो । उनले भने,‘एमसीसीविरुद्ध यत्रा जनता हुँदाहुँदै पनि एमसीसी पास गरे लोकतन्त्र र राज्यमाथिको अपमान हुनेछ । एमसीसी साँच्चिकै राष्ट्रघाती हो ।’

देशलाई एमसीसीबाट आउने ५५ अर्ब रुपैयाँ धेरै ठुलो रकम नभएको भन्दै उनले पैसा नै चाहिएको भए नेपालमा भएका ठुला–ठुला घोटला र काण्डहरुको छानबिन गर्न पर्ने बताए । शाहीले ६२ अर्बको एनसेल, ओम्नी, वाइडबडीलगायतका काण्डको अनुसन्धान गर्नपर्नेमा सुनाएका थिए ।

त्यस्तै, विभिन्न सरकारी र संवैधानिक निकायका कर्मचारीको सम्पत्ति छानबिन गर्न सरकारसँग आग्रह गरे । यदि संसद्बाट एमसीसी पारित गरेमा अहिलेका पुस्ताले भन्दा पनि आउने सन्ततिले दुःख पाउने उनको भनाई थियो । जनताले भोट दिएकै कारण नेताहरुले आज देश बेच्न लागेको उनले सुनाए । नेपालका सबै जनतालाई एमसीसी बारे सत्यतथ्य जानकारी दिनुपर्ने उनले बताए ।

शाहीले सभामुख अग्निप्रसाद सापकोटालाई संसद्बाट एमसीसी सम्झौता हटाउन पनि आग्रह गरे । कांग्रेस नेता स्व.कृष्णप्रसाद भट्टराईको स्मरण गराउदै शाहीले उनकै जगमा हुर्केका-बढेका कांग्रेसका नेता तथा कार्यकर्ताहरुमाथि पनि एमसीसी पारित गरेलगत्तै प्रश्न तेर्सिने बताए ।

कांग्रेसका महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई एमसीसीको बारेमा मौनता तोड्न शाहीले आग्रह गरे । बुढापाका भन्दा पनि युवा नेताहरुले देशको भविष्यको बारेमा सोच्न पर्ने उनको सुुझाव छ । उनले भने,‘महाकालीसम्झौता गर्दा त्यसको असर नेपालीले अहिलेसम्म पनि भोग्न परिरहेको छ ।’ एमसीसी नेपालको हितमा नभएको उनले थप स्पष्ट पारे ।

यदि देशमा एमसीसीको आवश्यकता देखिन्छ भने जनमतसंग्रह गर्न पर्नेमा उनले जोड दिए । एकपटक चुनाव जितेर आएपछि देश बेच्न नपाइने भन्दै गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीको विरुद्धमा लाग्नेलाई ठेगान लगाउनुपर्छ भनेर दिएर अभिव्यक्ति उल्लेख गर्दै उक्त अभिव्यक्तिप्रति आपत्ति जनाए ।

उनले खाँणलाई प्रजातन्त्रवादी शक्तिको नेता भएर जनताको आवाजलाई दबाउन लागेको आरोप लगाए । उनले भने,‘जनताले गलत कुराको विरोध गर्न पाउनुपर्छ । जनताको आफ्नो कुरा राख्न पाउनुपर्ने अधिकार हो । आउने चुनावमा राजनीतिक दल र तिनका नेताहरुले त्यसको ठुलो मुल्य चुकाउनुपर्ने छ ।’ कोभिडको महामारीमा ७४ हजार जना भिजिट भिषामा विदेश बेचिएको उनले उल्लेख गरे ।

अहिलेको व्यवस्था शतप्रतिशत ठिक हो भन्नेहरु दलाल वा मानसिक बिरामी भएको उनले आरोप लगाए । नेपाली जनताह सचेत नभएकै कारण अपराधीहरुले देशको नेतृत्वमा पुग्ने मौका पाएको उनले जिकिर गरे । एमसीसी नेताहरुको चुनावको खर्च उठाउने माध्यम भएको पनि आरोप लगाए । शाहीले अबको चुनावमा नेताको भ्रष्टाचार गरेर कमाएको पैसा लिन र भोट चाँही नदिन आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !