
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय गरेको छ ।
त्यस्तैगरी भोजपुर जिल्लास्थित नेपाली सेनाको श्री फस्ट राफइल गणको ब्यारेक पेरिमिटरको उत्तर र पूर्वतर्फ फैलिएको स्थानीय व्यक्तिहरूको स्वामित्वमा रहेको करिब २० रोपनी १५ आना दुई दाम जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरु
- संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरवलोकनका लागि सैद्धान्तिक स्वीकृति दिने ।
- कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने ।
- भोजपुर जिल्लास्थित नेपाली सेनाको श्री फस्ट राफइल गणको ब्यारेक पेरिमिटरको उत्तर र पूर्वतर्फ फैलिएको स्थानीय व्यक्तिहरूको स्वामित्वमा रहेको करिब २० रोपनी १५ आना दुई दाम जग्गा प्राप्त गर्न स्वीकृति दिने ।
- कञ्चनपुर र कैलालीमा एकीकृत फोहोरमैला व्यवस्थापन प्लान्ट स्थापनार्थ कञ्चनपुरको शुक्लाफाट नगरपालिका र कैलालीको गोदावारी नगरपालिकाको वन क्षेत्र पर्ने जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
- विभिन्न समयमा छपाइ भएका प्रकाशन नभएका र चलनचल्तीमा ल्याउन नसकिएका हुलाक टिकट र हुलकका स्टेसनरीहरू प्रचलनमा नल्याउने कानुनबमोजिम नष्ट गर्न स्वीकृत दिने ।
- स्वास्थ्य बिमा बोर्डको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
- लोकसेवा तथा बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकारीहरूलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ति तथा पदस्थापना गर्ने ।
- विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने करिब दुई अर्ब ६१ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने ।
- विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न प्रसारणलाइन तथा सबस्टेसन आयोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने ।