११ आश्विन २०८१, शुक्रबार

मुख खोल्दै देव गुरुङले भने- महासचिव पदका लागि तयार छु


देव गुरुङ फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले बल्ल मुख खोल्दै पार्टीको महासचिवका लागि आफू तयार रहेको बताएका छन् । आज बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले महासचिवका लागि वर्षमान पुन र जनार्दन शर्माको नाममा सहमति नभएमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो व्यक्तिको खोजी गर्ने बताए ।

गुरुङले वर्षमान पुन र जनार्दन शर्माको महासचिवमा दाबेदारी आइरहेकाले सहमतिमा लैजाने प्रयास भइरहेको बताएका छन् । तेस्रो व्यक्तिको खोजी गर्दा आफूलाई जिम्मेवारी दिएमा तयार रहेको उनको भनाइ छ ।

उनले आफूले हालसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार नगर्ने र तोकिएको जिम्मेवारी पूरा गर्न तयार रहेको स्पष्ट पारेका हुन् ।

नेता गुरुङले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकोले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने बताए । नेता वर्षमान पुन उपचारका क्रममा चीनमा रहेको उनले आफू नफर्किँदासम्म पदाधिकारी चयन नगर्न आग्रह गरेकाले पर्खिरहेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !