२१ पुस २०८१, आइतबार

कांग्रेस महामन्त्री पदको मतगणना आज बिहान ९ बजेदेखि हुँदै


गगन थापा र विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले केही बेरमै शुरु हुँदैछ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।

निर्वाचनको मतगणना आज बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा हुन लागेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा गगनकुमार थापा, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मीनेन्द्र रिजाल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका थिए ।

सोमबारको मतदानमा ४७४३ मतदातामध्ये ४६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइससकेका छन् ।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुरु गरिएको हो । यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु