१२ पुस २०८१, शुक्रबार

शेरबहादुर देउवा कांग्रेसको सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका छन् । सभापतिका लागि मंगलबार भएको पुनः मतदानबाट उनी विजयी भएका हुन् । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हुन् ।

सभापति देउवा प्रतिस्पर्धी डा. शेखर कोइरालालाई ८७८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । मंगलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४६२३ मा देउवाले २७३३ मत प्राप्त गरेका थिए भने डा. कोइरालाले १८५५ मत प्राप्त गरेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जम्मा ३५ मत बदर भएको थियो ।

दिउँसो ३ः३० बजेदेखि शुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको थियो । मतदानमा ४७४३ मतदातामध्ये ४५७४ ले मतदान गरेका थिए । सोमबार भएको निर्वाचनमा सभापति पदका ५ जना प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति देउवा र नेता डा. कोइरालाबीच मंगलबार पुनः मतदान भएको हो ।

सोमबार भएको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले २२५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. कोइरालाले १७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुने व्यवस्था छ ।

काँग्रेसको सभापतिमा दोस्रो पटक निर्वाचित देउवा यसअघि काँग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट सभापतिमा देउवाले सभापति पदका अर्का प्रत्यासी रामचन्द्र पौडेललाई हराएका थिए । यस्तै पोखरामा भएको १० औं महाधिवेशनमा देउवा गिरिजाप्रसाद कोइराला र काठमाडौंमा भएको १२ औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !