८ पुस २०८१, सोमबार

लिङ्देनमाथि खनिदै ओलीले भने- भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रको कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि खनिएका छन् ।

काँग्रेसको महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना दिंदै अध्यक्ष ओलीले भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ भन्दै राप्रपा अध्यक्ष लिङ्देनप्रति कटाक्ष गरेका हुन् ।

कांग्रेसको महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले राजतन्त्रको पक्षमा बोल्दै नेताप्रति नेपाली जनताहरुको विश्वास घटेको कटू यथार्थ प्रकट गरेका थिए । उनले पछिल्लो समय गाउँघरमा राजनीतिक दलका नेताहरुलाई बोलायो भने कुन चोर आएछ भन्ने गरेको बताएका थिए । राजनीति दलका नेताहरुले नेपाली जनताको विश्वास तोडेको बताएका थिए ।

उनले नेताहरुप्रति जनताको विश्वास घटेकोले आजकल कुनै कार्यक्रममा कुनै नेता आउँदै हुनुहुन्छ भन्यो भने जवाफमा जनताले कुन चोर आएछ भन्ने घृणा आम जनतामा उत्पन्न हुने अवस्था सिर्जना भएको बताए । लिङदेनले संवैधानिक राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सांसद्ले मन्त्री बनाउन नपाउने गरी पूर्व समानुपातिक संसदीय व्यवस्था ल्याउनुपर्ने आवश्यकता रहेको पनि बताएका थिए ।

लिङदेनको उक्त भनाईप्रति आक्रोशित देखिएका ओलीले नागरिक स्वाभिमान बिर्सिएर जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मान्नु आश्चर्य भएको बताएका हुन् । लिङ्देनले जनताले नेतालाई चोरको रूपमा चित्रित गर्न थालेको अभिव्यक्ति दिएपछि ओली खनिएका हुन् ।

‘हरेक नेता चोर हुन्छ, यस्ता कुरा बोकेर हिँड्ने ? हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई’, ओलीले कटाक्ष गरे, ‘भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ । भर्खर भर्खर सभापति भएको रापताप होला । अलिक समयमा ठिक आउला भन्ने मलाई लाग्छ ।’

यो पनि पढ्नुहोस्

नेता गाउँ जाँदा कुन चोर आएछ भन्न थाले : अध्यक्ष राजेन्द्र लिङ्देन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !