१४ बैशाख २०८१, शुक्रबार

काँग्रेस सभापति उम्मेदवारीमा शेखर कोइरालाको अडान कायमै


शेखर कोइराला तस्वीर सौजन्य : शेखर कोइरालाको ट्वीटरवाट

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो उम्मेदवारीको अडान कायमै रहेको बताएका छन् । केही मिडियामा कोइराला सभापतिको उम्मेदवारीबाट ‘ब्याक’ भएको समाचारहरू आएतापनि कोइरालाले आफ्नो अडान कायमै रहेको स्पष्ट पारेका हुन् ।

सामाजिक संजाल ट्वीटरमा केहि समय अघि पोष्ट गर्दै उनले एक पटक, यसै पटक भनेर लेखेका छन् । कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा साथ दिने भन्ने समाचारहरू आएको बेला कोइरालालले उम्मेदवारी कायमै रहेको अडान दोहोर्याएका हुन् ।

यसअघि उनको सचिवालयले भनेको थियो, ‘वरिष्ठ नेता पौडेलसँग भेटघाट भएको कुरा सत्य हो, तर कोइरालाले सभापतिमा पौडेललाई सघाउने भन्ने सत्य होइन ।’ अहिले पनि देशभरका नेता कार्यकर्ताले सभापतिमा साझा उम्मेदवारकोरूपमा आउन शेखरलाई आग्रह गरिरहेको सचिवालयले जनाएको छ ।

यसरी कांग्रेसका नेता कोइरालाले १४औं महाधिवेशनमा सभापतिका लागि प्रचार-प्रसार शुरु गरेको संकेत पनि गरेका हुन् । संस्थापनइतर समूहमा सभापतिको साझा उम्मेदवार सकसपूर्ण भइरहेको समयमा कोइरालाले यस्तो ट्वीट गरेका हुन् ।

काँग्रेसमा संस्थापनइतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर सभापतिको उम्मेदवारमा अडान राख्दै आएकोले अहिले सम्म साझा उम्मेदवारको टुंगो लागी सकेको छैन । प्रकाशमानले पनि सभापतिको उम्मेदवारीमा आफ्नो अडान कायमै राखेका छन् ।

कांग्रेसको संस्थापनइतर पौडेल समूहमा सभापतिको साझा उम्मेदवार छनोट सकस बनेको छ । केही नेताका अनुसार अब पूर्वमहामन्त्री प्रकाशमान सिंह सहमत भए पौडेल साझा उम्मेदवार बन्ने छन्, नभए टिम फुट्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !