११ बैशाख २०८१, मंगलबार

कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा ३०० अट्ने मञ्चको तयारी


कांग्रेस महाधिवेशनस्थलको मञ्च

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन काठमाडौँको प्रदर्शनीमार्गस्थित आयोजनास्थल भृकुटीमण्डपमा ३०० अट्ने मञ्च बनाइदैछ । कांग्रेसको महाधिवेशनस्थल भृकुटीमण्डप बेहुली झै सिङ्गारिएको छ ।

महाधिवेशनमा २०० जनालाई एकैसाथ मतदान गर्ने व्यवस्था गर्न लागिएको छ । राष्ट्रियसभागृहमा कांग्रेसले मतदान गर्न २०० बुथ राख्न लागेकोे नेपाली कांग्रेस काठमाडौँका सचिव गोविन्द पुडासैनीले जानकारी दिए ।

महाधिवेशनमा सहभागी हुने चार हजार ५०० भन्दा बढी प्रतिनिधिले ब्यालेटमै मतदान गर्नुपर्ने भएको छ । एक जनालाई मतदान गर्न कम्तीमा पनि एक घण्टाभन्दा बढी लाग्ने पुडासैनीले बताए । मङ्सिर २४ गते कांग्रेस महाधिवेशनको उद्घाटन हुने र ७ गते मतदान हुने कार्यतालिका छ ।

कांग्रेसले ३०० जना भन्दा बढीलाई मञ्चमा राखेर महाधिवेशनको उद्घाटन गर्ने तयारी स्वरुप धमाधम संरचना बनाइरहेको छ । शक्ति प्रदर्शन नगर्ने भए पनि कांग्रेसले मञ्चमा भने तीन स्टेपमा बस्ने व्यवस्था गरेको छ ।

मञ्च व्यवस्थापनको जिम्मेवारी पाएको कांग्रेस काठमाडौँका सचिव पुडासैनीले ३०० जना बस्ने र ४० जना नाच्ने मञ्च बनिरहेको बताए । उनले मञ्च निर्माणका काम आज साँझसम्म सकिने जानकारी दिए । विदेशी पाहुना, नेता र कलाकार गरी मञ्चमा तीन स्टेपमा बस्न मिल्ने बनाइएको छ ।

कांग्रेसले महाधिवेशन उद्घाटनस्थललाई भव्य र आकर्षक मञ्च बनाएको छ । सचिव पुडासैनीका अनुसार ८० फिट लम्बाइ र ४० फिट चौडाइको भव्य मञ्च बनाइएको छ । मञ्च बनाउन मात्रै १०० भन्दा बढी कामदार तीन दिनदेखि खटिएका छन् । यस्तै स्वागतगेट तथा प्रचार प्रसारका लागि थप ५० भन्दा बढी जनशक्ति खटिएका छन् ।

रोशन आर्ट सर्भिसले मञ्च बनाइरहेको छ भने सगरमाथा टेन्ट हाउसले टेन्टको व्यवस्था गरेको छ । दुई दिनदेखि दुवै कम्पनीका प्राविधिक तथा मजदुरले धमाधम काम गरिरहेका छन् । मञ्चमा ठूला लाइट तथा माइकको व्यवस्था गरिएको छ ।

रातिका समयमा पनि कार्यक्रम गर्न सकिने गरी बत्तीको व्यवस्था गरिएको छ । इन्टरनेटको सहजताका लागि महाधिवेशनस्थलमा नेपाल टेलिकमको टावर स्थापना गरिएको छ । मिडिया सेन्टर, सहायताकक्ष तथा विभिन्न होल्डिङ सेन्टरसमेत बनाइएको छ ।

महाधिवेशन प्रतिनिधि बस्नका लागि राजधानीका ठमेल, सुन्धारा र गौशलामा गरी तीन ठाउँमा होटल बुकिङ गरिएको छ । त्यहाँ हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । चार हजार ३०० महाधिवेशन प्रतिनिधि बस्न मिल्ने गरी होटल बुकिङ गरिएको छ ।

समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि खानाको व्यवस्था गर्न लागेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड र बसुन्धराको दियालो फुडल्याण्डमा भोजनको व्यवस्था गरिएको । मङ्सिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म खानाको व्यवस्था गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !