सौराहा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली फराकिलो मतान्तरसहित पुनः निर्वाचित भएका छन् । चितवनमा भएको एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उम्मेद्वार भीम रावललाई हराएर ओली विजय भएका हुन् ।
ओलीले १८३७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका अध्यक्षका प्रतिस्पर्धी रावलले २२३ मत प्राप्त गरे । एमाले निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार कुल २१५३ मतदातामध्ये २०९६ मत खसेको छ । कतिपय प्रतिनिधिले अध्यक्षका दुवै उम्मेदवारलाई मत दिएको बुझिएको छ ।
ओली दोस्रो पटक एमालेको अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि एमालेको नवौं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षमा ओलीले अध्यक्ष पदका अर्का प्रत्यासी माधवकुमार नेपाललाई हराएका थिए । यस्तै एमालेको आठौं महाधिवेशनमा झलनाथ खनालसँग ओली पराजित भएका थिए ।
यसपटक एमाले निर्वाचनमा विद्युतीय मेसिनबाट इलेक्ट्रोनिक भोटिङको ब्यबस्था गरिएकोले मतदान र गणनाका कारण छिटै परिणाम निस्किएको हो । एक पटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङकर पोखरेल लगायत पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन् । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन् ।
महाधिवेशनको बन्दसत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई ३०१ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो ।
अध्यक्ष ओलीले विभिन्न नेताहरुसँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाएकामा डा. रावल, नेता घनश्याम भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो ।
उपाध्यक्ष पदमा हलमा प्रस्तुत भएको नामावली अतिरिक्त उम्मेदवारी दिएका भुसाल अन्य उम्मेवारका तुलनामा पछि परेका छन् । नयाँ केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक आजै सौराहामा हुँदैछ ।
यो पनि पढ्नुहोस्
एमालेको मतगणना जारी, फराकिलो मतान्तरले ओलीको अग्रता कायमै
एमाले निर्वाचन मत परिणाम : अध्यक्षमा ओलीले ल्याए ४०० मत, रावलको ४२ मात्र