८ बैशाख २०८१, शनिबार

को हुन् मोहम्मद लालबाबु राउत गद्दी ?


Lal Babu Raut Gaddi

पृष्ठभूमि र जन्म

मोहम्मद लालबाबु राउत गद्दी प्रदेश नम्बर २ का मुख्यमन्त्री हुन् । पर्सा जिल्लाको क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित मो. राउतको जन्म २०२३ साल असार १५ गते भएको हो । राउत पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४ निवासी हुन् । किसान परिवारमा जन्मिएका राउतको राजनीतिक यात्रा विद्यार्थीकाल देखी नै सुरु भएको हो । प्रारम्भमा नेविसंघ हुँदै कांग्रेसमा प्रवेश गरेका मो. राउत २०५८ साल देखि फोरमका छन् । गैरसरकारी संस्थाका रुपमा २०५७ सालमा फोरम स्थापना भएदेखि अध्यक्ष उपेन्द्र यादवलाई सक्रिय रुपमा सघाएका राउतले मधेस आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए । उनले २०७० सालदेखि फोरममा उपाध्यक्षको पद सम्हाल्दै आएका थिए ।

शिक्षा

पर्साको मुस्लिमबहुल जगरनाथपुरमा हिन्दु जस्तै नाम भएको मुस्लिम परिवारमा जन्मिएका राउत गाउँमै प्रारम्भिक पढाइ सकेका माध्यमिक तहका लागि पोखरियाको विद्यालयमा भर्ना भए ।

२०४० सालमा राम्रो अंक ल्याएर एसएलसी सकेका लालबाबु प्रवीणता प्रमाणपत्र तह पढ्न वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा भर्ना भए । स्नातकसम्म वीरगञ्जमै अध्ययन गरिसकेपछि स्नातकोत्तर पढ्न उनी २०४९ सालमा काठमाडौं आए र त्रिभुवन विश्वविद्यालयमा अंग्रेजीमा स्नातकोत्तरको अध्ययन पूरा गरिसकेपछि वीरगञ्ज फर्केर २०५० सालदेखि आफै पढेको ठाकुरराम बहुमुखी क्याम्पसमा अध्यापन गर्न थाले ।

साथै उनले कानुनमा एलएलबीसमेत गरेका छन् । अध्यापन सँगसँगै वीरगञ्ज नगरपालिकाको जागिरे पनि भए । । उनले २०७० सालको संविधानसभा निर्वाचनअघि जागिर छाडेका थिए ।

राजनीतिक यात्रा

राउतको राजनीतिक यात्रा विद्यार्थीकाल देखी नै सुरु भएको भए पनि प्रारम्भमा नेविसंघ हुँदै कांग्रेसमा प्रवेश गरेका मो. राउत २०५८ साल देखि फोरममा आवद्ध छन् । उनी पहिलो मधेश आन्दोलन पछि मात्रै सक्रिय राजनीतिमा प्रवेश गरे । सुरूमा मधेशी जनअधिकार फोरमको केन्द्रीय सचिव भएर काम गरेका उनी पछि केन्द्रीय सदस्य तथा राष्ट्रिय उपाध्यक्ष समेत भए ।

दोस्रो संविधान सभाको व्यवस्थापिका संसदको राज्य व्यवस्था समिति तथा संविधानको मस्यौदा बनाउने समितिको अनुभव बटुलेका लालबाबु पार्टीका एक बौद्धिक नेताको रूपमा चिनिन्छन् ।

दोस्रो संविधानसभामा समानुपातिक सभासद बनेका उनी मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशसभामा झरेका थिए । पर्सा १ ‘ख’ मा प्रतिद्वन्द्वी विजय सरार्फलाई ३ हजार भन्दा बढी मतले पराजित गर्दै विजयी भएका थिए । प्रदेश २ को मुख्यमन्त्रीको कुर्सीसम्म छलाङ मार्न सफल उनी छोटो राजनैतिक यात्रामा नै उच्च पद समाल्ने अवस्थामा पुग्ने नेतामा उनी पनि पर्दछन्  ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !