१० कार्तिक २०८१, शनिबार

सर्वोच्चमा प्रहरीको ठाडो हस्तक्षेप : बारका अध्यक्षसहित १२ जना वकिल घाइते


सर्वोच्च परिसर तनावग्रस्त

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरूमाथि आज प्रहरीले लाठीचार्ज गरेको छ । प्रदर्शनका क्रममा कानुन व्यवसायीहरू र प्रहरीबीच धकेलाधकेल समेत भएपछि सोही क्रममा प्रहरीले लाठी प्रहार गरेको हो ।

प्रहरीको लाठी प्रहारबाट नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएको कानून व्यवसायीहरुले जानकारी दिएका छन् । वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आएको हो ।

बल प्रयोगबाट घाइते भएका बार अध्यक्ष श्रेष्ठलाई अस्पताल लैजाँदै गरेको प्रदर्शनस्थलमा माइकिङ गरेर कानून व्यवसायीहरुले जानकारी दिएका छन् । झडपका क्रममा श्रेष्ठलाई प्रहरीले लठ्ठीले छातीमा घोचेर ठेलेको उनले बताए ।

यस्तै प्रहरीले सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारी लगायतमाथि प्रहरीले हातपात गरेको छ । आज बिहीबार प्रधानन्यायाधीश छिर्ने अर्को गेटमा प्रदर्शनकारी जाने क्रममा प्रहरीले रोक्दा घम्साघम्सी भएको हो ।

बिहान साढे १० बजे प्रधानन्यायाधीश छिर्ने गेटतर्फ अगाडि बढेका कानुन व्यवसायीलाई प्रहरीले रोकेको थियो । सर्वोच्च परिसरमा बिहीबार यसअघि तुलनामा थप प्रहरी परिचालन गरिएको छ । सर्वोच्च परिसरमा अहिले कानुन व्यवसायीहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै नाराबाजी गरिरहेकोले उनीहरूलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो ।

यो पनि पढ्नुहोस्

सर्वोच्च परिसरमा वकिलमाथि प्रहरीको लाठीचार्ज, थप प्रहरी परिचालन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !