विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले शपथ लिएका छन् । मुख्यमन्त्री राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज दिउसो पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
प्रदेश १ का नवनियुक्त चार मन्त्री र एक राज्यमन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री राईले शपथ लिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारीले मन्त्रीहरुलाई शपथ गराएका हुन् भने राज्यमन्त्री मुख्यमन्त्री राईले शपथ गराएका थिए ।
नवनियुक्त मुख्यमन्त्री राईले आज मंगलबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्रीसहित ४ जना मन्त्रीहरु र १ जना राज्यमन्त्री नियुक्त भएका जम्मा ६ जनाले शपथ लिएका हुन् । गठबन्धनका तर्फबाट काँग्रेसबाट २ जना, माओवादी केन्द्रबाट १ जना, जसपाबाट १ जना मन्त्री र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चवाट १ जना राज्यमन्त्रीसहित मुख्यमन्त्री राईले शपथ लिएका हुन् ।
काँग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री नियुक्त भएका छन् । यस्तै संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन् ।
नेकपा (एकीकृत समाजवादी) का प्रदेश १ का संसदीय दलका नेता राई आजै मात्र मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । राईलाई प्रदेश प्रमुख प्यासीले आजै मंगलबार मात्र नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
प्रदेश १ मा भीम आचार्यले मुख्यमन्त्री पदवाट दिएको राजीनामा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले स्वीकृत गरी मुख्यमन्त्री पदमा दावी पेश गर्न आज मंगलबार दिउँसो १ बजेसम्म आह्वान गरेकोमा हिजै राईले मुख्यमन्त्री पदमा दाबी पेश गरेका थिए ।
प्रदेश १ मा मुख्यमन्त्रीको लागि राईबाहेक अरु कसैको दाबी परेन । प्रदेश १ मा पनि बाग्मती प्रदेशमा जस्तै कांग्रेसले यसअघि आलोपालो सरकार बनाउने प्रस्ताव गरेपनि सो विषयमा केन्द्रमा नै शीर्ष नेताहरु बसेर टुंगो लगाउने तयारी गरिएको छ ।
यो पनि पढ्नुहोस्
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले लिए शपथ
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा
प्रदेश १ र प्रदेश ३ मा दुई भाई राजेन्द्रलाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति