७ मंसिर २०८१, शुक्रबार

प्रदेश १ मा मुख्यमन्त्री पद जोगाउन एमालेद्वारा सांसद खरिदबिक्रीको चर्चा !


भीम आचार्य

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफ्नो मुख्यमन्त्री पद जोगाउन सांसदको खरिदबिक्री गरेको चर्चा-परिचर्चा शुरु भएको छ । आज विश्वासको मत लिने दिन उनले आफ्नो सत्ता जोगाउन सांसद किनबेच भएको विषय सार्वजनिक भएको हो ।

प्रदेश १ मा एमाले नेतृत्वको आचार्यको सरकार जोगाउन एमालेले नेपाली कांग्रेसको सांसद किनेको विषय सार्वजनिक भएको हो । एमालेले नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को समेत सासंद किनेको चर्चा चलेको छ ।

आफ्ना सांसद बिकेको थाहा पाएपछि नेपाली कांग्रेसले आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । कांग्रेसले आज आइतबार बोलाइएको प्रदेशसभा बैठक रोक्न माग गर्दै सभामुख प्रदीप कुमार भण्डारीलाई लिखित निवेदन दिएको छ ।

प्रदेश १ को प्रदेशसभामा आज मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची भएकोमा कांग्रेस र नेकपा एकीकृत समाजवादीका सांसदले फ्लोर क्रस गर्ने सूचना आएपछि विपक्षी गठबन्धनमा तरङ्ग आएको हो ।

कांग्रेसका ३ जना र एकीकृत समाजवादीका १ जना सांसदले फ्लोर क्रस गर्न सक्ने भन्दै आफ्ना ३ जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने सूचना आएको कांग्रेसका एक सांसदले पुष्टि गरेका छन् ।

तर, कांग्रेसले भने प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को पाढीपहिरोको क्षति अवलोकन गर्न आएकाले सवै सांसद त्यतै हुँदा प्रदेशसभा प्रभावित हुने भएपछि बैठक स्थागित गर्न माग गरिएको प्रदेश १ कांग्रेसले जनाएको छ । सांसद किनबेच भएको हल्ला चले पनि आचार्य नेतृत्वको एमाले सरकार जोगाउन को–को तयार भए भन्ने नाम भने अझसम्म सार्वजनिक भएको छैन ।

यस्तै सत्तारूढ दल एमालेले पनि आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । एमालेले कात्तिक १५ गतेपछि बैठक राख्न माग गरेको छ । प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पार्टीको कार्यक्रमहरू रहेका बैठक सार्न माग गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !