१४ बैशाख २०८१, शुक्रबार

हेलिकप्टरमा कञ्चनपुर पुगेर देउवाले झोक्किदै भने- ‘ए भाइ, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’


प्रधानमन्त्री देउवा कंचनपुरमा

कञ्चनपुर । हेलिकप्टर चढेर प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवस्था बुझ्न हिजो त्यसतर्फ निस्किएका थिए । प्रधानमन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरु एनपी साउँद, रमेश लेखक र वीरबहादुर बलायरसहितको टोलीमा रहेका छन् ।

सरकारले अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विपत‍्मा परेका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो । यस्तै सरकारले बाढीपहिरोमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ ।

सरकारले अविरल वर्षाका कारण आएको बाढी पहिरोले घर भत्काएकाहरूलाई ५ लाखसम्म आर्थिक सहयोग गर्ने भएको छ । बाढी पहिरोले पहाडमा घर भत्केकाहरूलाई घर निर्माण गर्न ४ लाख, हिमाली क्षेत्रकालाई ५ लाख र तराईका पीडितलाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

यसै क्रममा प्रधानमन्त्री देउवा हिजो बिहीबार कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका-९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रममा पुगेका थिए । करिब १३ मिनेट भएको उक्त कार्यक्रममा बसेका प्रधानमन्त्री देउवाले डेढ मिनेट सम्बोधन गरेका थिए ।

देशभरमै भयानक पीडा भएको बताउदै देउवाले क्षतिको विवरण संकलन गरेपछि मूल्यांकन गरि राहत र क्षतिपूर्ति दिने बताए । सम्बोधनमा देउवाले भने, ‘क्षतिपूर्तिको विवरण संकलन गरेर छिटो काठमाडौं पठाएपछि यसबारेमा निर्णय लिन्छु ।’

देउवाले बोल्दाबोल्दै कार्यक्रमका एक जना सहभागी बोल्न थाले । सोही क्रममा मञ्चको अगाडि बसेका एक युवाले गुनासो गर्दै भनेका थिए, ‘सुनिएन प्रधानमन्त्रीज्यू, अलि ठूलो स्वरमा बोलिदिनुस् न ।’ प्रधानमन्त्री देउवा त्यतिमै आक्रोशित भएर ती व्यक्तितर्फ औंला देखाउँदै भने, ‘ए भाइ सुन्नुस् भन्या, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ, चुप लाग्नुस् ।’

सम्बोधनकै क्रममा धेरैले बोल्न नपाएको भन्दै देउवाले माफीसमेत मागेका थिए। ‘माफ गर्नुहोला धेरै बोल्ने समय छैन । मन्त्रीहरुले बोल्न पाउनुभएन । माफ गर्नुहोला । तपाईहरुको जुन पीडा छ हामी काठमाडौं गएर गुरुयोजना बनाएर सम्बोधन गरिनेछ,’ देउवाले यसरी सम्बोधन छोट्याएका थिए ।

तर सुदूरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवस्था र जनताको दु:ख बुझ्न गएका प्रधानमन्त्री देउवाले उल्टै थर्काएको देखेर स्थानीय जनताहरु चकित भएका थिए । प्रधानमन्त्रीले माइकबाटै हप्काएपछि ती युवा चुपचाप बसेका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री देउवा निस्किए सुदूरपश्चिमको अवलोकनमा, यस्तो छ भ्रमण तालिका

मन्त्रिपरिषद्को निर्णय : घर भत्केकालाई ३ देखि ५ लाखसम्म दिने

मन्त्रिपरिषद्को निर्णय : बाढी, पहिरोमा मृत्यु भएका परिवारलाई २ लाख राहत दिने

बाढी, पहिरोमा मृत्यु भएका परिवारलाई राहत, घाइतेको निशुल्क उपचार दिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु