७ बैशाख २०८१, शुक्रबार

एमाले बैठक जारी, असन्तुष्ट पक्षले १० बुँदे कार्यान्वयनको विषय उठाउने


केपी ओली, भीम रावल र घनश्याम भुसाल

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी रहेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा केही समय अघिदेखि बैठक शुरु भएको हो ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय तहको अधिवेशन, राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाका कारण भएका जनधनको क्षतिका सम्बन्धमा छलफल हुनेछ ।

१० बुँदे समझदारीबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले असन्तुष्टि प्रकट गरेपछि विवाद फेरि बल्झिएर सतहमा देखिएको छ ।

हिजो बुधबार बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले पार्टीभित्रको विवाद समाधानका लागि गत असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको भन्दै १० बुँदेको एकतारे नबजाउन भनेर अभिव्यक्ति दिएपछि रावल र भुसालले असन्तुष्टि जनाएका हुन् ।

रावल लगायत नेताहरूले १० बुँदे कार्यान्वयन हुनुपर्ने बताइरहेका बेला ओलीले अब १० बुँदेको एकतारे नबजाउन भनेका हुन् । ओलीले माधव नेपाल पार्टीमै बस्छन् भनेर त्योबेला १० बुँदे गरिएको पनि बताएका थिए ।

पार्टीलाई एकताबद्ध बनाएर लैजान गरिएको सहमति कार्यान्वयन गर्नुपर्ने रावलको भनाइ छ । रावलले पार्टीमा गरिएको १० बुँदे समझदारी पार्टी एकता बचाएर देशहितका लागि बजाइएको विगुल भएको बताएका छन् । १० बुँदे सहमतिवारे ओलीको उक्त अभिव्यक्तिको सामाजिक संजाल ट्वीटरमा जवाफ दिंदै रावलले एकतारे नभई पार्टी एकताका लागि बजाइएको ११ तारे विगुल भएको स्पष्ट पारेका छन् ।

अध्यक्ष ओलीले १० बुँदे सहमतिवारे गरेको टिप्पणीलाई लिएर उपमहासचिव भुसालले पनि असन्तुष्टिको प्रकट गरेका छन् । ओलीको धारणालाई भद्दा भौतिकवाद भन्दै भुसालले एउटा संस्कृतको श्लोक पनि राखेका छन् । यसरी आज जारी रहेको एमाले बैठकमा असन्तुष्ट पक्षले १० बुँदे कार्यान्वयनको विषय उठाउने भएको हो ।

एमालेको वडा अधिवेशन यही कात्तिक ६ गते र स्थानीय तहको अधिवेशन यही कात्तिक ९ गते तोकिएको छ । एमालेको राष्ट्रिय महाविधेशन आगामी मङ्सिर १० देखि १३ गतेसम्म बुटवलमा हुने भएको छ ।

यो पनि पढ्नुहोस्

१० बुँदेबारे ओलीको अभिव्यक्तिप्रति रावल र भुसालले जनाए कडा आपत्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !