७ मंसिर २०८१, शुक्रबार

झापा पुगेर एमाले अध्यक्ष ओलीले भने- ‘अर्ली इलेक्सन’को सम्भावना बढ्यो’


केपी शर्मा ओली फाइल फोटो

झापा । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘अर्ली इलेक्सन’को सम्भावना बढेको दावी गरेका छन् ।

दसैँ, दीपावली, छठ र नेपाल सम्बत्को अवसरमा आज झापाको बिर्तामोडमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको आलोचना गर्दै ३ महिनामा बल्ल मन्त्रिमण्डलले पूूर्णता पाएको बताएका छन् ।

उनले भने, “३ महिनामा बल्लबल्ल मन्त्रिमण्डलले पूर्णता पाएको छ, सरकार कसरी चलिरहेको छ भन्ने प्रष्टै छ । अरु केके भएको छ, त्यो चाहिँ देखिन बाँकी छ ।”

आफुले नेतृत्व गरेको सरकारले विकास निर्माणमा आशालाग्दो काम गरेको चर्चा गर्दै उनले प्रदेश र स्थानीय तहको सरकारलाई अब धेरै अवधि बाँकी नरहेका कारण तीव्रगतिमा विकासका कार्यलाई अघि बढाउन आग्रह गरे ।

जनताको जीवनमा देखिने गरी परिवर्तन ल्याउन लोकतन्त्र स्थापना गरिएको जनाउँदै अध्यक्ष ओलीले लोकतन्त्रको माला जपेर लोकतन्त्रकै विरुद्ध गतिविधि गर्नेको कुप्रचार र भ्रम निस्तेज बनाउन कार्यकर्ता पङ्क्तिलाई आह्वान गरे ।

ओलीले शेरबहादुर देउवा सरकार कसरी बनेको रहेछ बल्ल थाहा भएको बताएका छन् । हालै भएको मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशका जेठानलाई मन्त्री बनाएकोतर्फ संकेत गर्दै उनले सट्टापट्टा भएको प्रष्ट भएको बताए ।

गृहजिल्ला झापामा बिहीबार आयोजित कार्यक्रममा ओलीले पैसाको कारोबार नहुँदा वार्टर सिस्टममा काम हुने गरेको बताए । यो सरकार पनि कसरी बनेको रहेछ अहिले थाहा भएको भन्दै उनले भने, ‘पैसाको कारबाही भयो कि भएन थाहा भएन । सट्टापट्टा भएको स्पष्टै देखियो । अरु केके भएको थियो, पछि देखिएला ।’

उनले दसैँ, तिहार, छठ लगायतका चाडपर्वले समाजलाई एकता र सद्भावमा उन्नका लागि मालाको काम गरेको धारणा व्यक्त गरे । उनले लोकतन्त्रलाई व्यवहार र जीवनमा उतार्न सद्बुद्धि आवोस् भनी शुभकामनासमेत व्यक्त गरेका छन् ।

विसं २०५० सालदेखि बडादसैँको महानवमीका दिन एमाले अध्यक्ष ओलीले गृहजिल्ला झापामा शुभकामना आदानप्रदान गर्दै आएका छन् । गत वर्ष कोभिड–१९ को कारण कार्यक्रम रोकिएको थियो ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हिरा थापा, नेकपा एमालेका प्रदेश कमिटी सचिव विनोद ढकाल,सांसद् कोमल वलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !