७ बैशाख २०८१, शुक्रबार

देउवाको स्वीकारोक्ति : क्षमतावानलाई मन्त्री बनाउन सकिएन, महत्त्वपूर्ण साथी छुटे


प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरू छुटेको भन्दै दु:ख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आफ्नो अन्तर्मनभित्र लुकेर रहेका दवित भावनाहरु पोख्दै आफ्नो वाध्यता र विवशताको उजागर गरेका हुन् ।

आज शनिबार बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिकाका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार हुँदा नेपाली काँग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेको स्वीकार गरेका हुन् ।

प्रधानमन्त्री देउवाले भने, ‘शुक्रबार मन्त्रिपरिषदले पूर्णता पाएको छ, पार्टीका योग्य र क्षमतावान साथीहरुलाई न्याय गर्न नसकेकोमा म दुःखी छु । यो गठबन्धनको सरकार हो, बुझ्नुहुन्छ सबैले ।’

प्रधानमन्त्री देउवाले अहिले छुटेका नेताहरूलाई उचित भूमिका दिनेसमेत आश्वासन दिएका छन् । हिजो शुक्रबार मात्र प्रधानमन्त्री देउवाले १६ मन्त्री र २ राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिएका थिए ।

प्रधानमन्त्रीले वीपी कोइराला शताब्दी सन्देश पुस्तक प्रकाशन गरेकोमा स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष नैनसिंह महरलाई धन्यवाद दिए । उक्त कार्यक्रममा कांग्रेस नेता मीन विश्वकर्मा, तारादेवी भट्ट र नैनसिंह महरले किताब र बिपी कोइरालाबारे प्रकाश पारेका थिए ।

यस्तै कार्यक्रममा संविधानविद् तथा बीपीबारे अध्येता बिपीन अधिकारीले आफ्नो धारणा राखेका थिए । मन्त्रिपरिषद विस्तारका क्रममा नेपालगञ्जका काँग्रेस नेता एवं प्रधानन्यायाधीशका जेठान गजेन्द्र हमाललाई उद्योग मन्त्री बनाइएपछि प्रधानमन्त्री देउवामाथि आलोचना भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !