७ बैशाख २०८१, शुक्रबार

देउवा सरकारमा थपिएका नवनियुक्त मन्त्रीहरु र राज्यमन्त्रीहरुले लिए सपथ


नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आज शुक्रबार अपरान्ह आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र राज्यमन्त्रीले प्रधानमन्त्री देउवासमक्ष सपथ लिएका हुन् । नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा प्रधानमन्त्री भएको लगभग तीन महिनापछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

आज विस्तारित मन्त्रिमण्डलअनुसार राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या, डा. मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिए ।

यस्तै महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशि श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकूदमन्त्रीले पनि आजै राष्ट्रपति समक्ष पथ तथा गोपनीयताको शपथ लिएका हुन् ।

देउवा सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्ण रुप ग्रहण गरेको हो । सत्ता गठबन्धनमा रहेका कांग्रेसहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) का मन्त्री बन्नेको सूची देउवाले राष्ट्रपति कार्यालयमा पठाएकोले राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री नियुक्त गरेकी हुन् ।

वर्तमान देउवा सरकारमा कांग्रेसबाट १ राज्यमन्त्रीसहित ९ जना मन्त्री बनेका छन् भने नेकपा माओवादी केन्द्रबाट १ राज्यमन्त्रीसहित ६ जना मन्त्री बनेका छन् । यस्तै नेकपा (एस) बाट १ राज्यमन्त्रीसहित ५ र जसपाबाट ४ मन्त्री बनेका छन् ।

गजेन्द्र हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको भनेर चर्चा-परिचर्चा चलेको छ । पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नभई समर्थन गर्ने भएको छ । नवगठित मन्त्रिपरिषदमा ६ जना महिला रहेका छन् ।

आजै प्रधानमन्त्री देउवा समक्ष नवनियुक्त राज्यमन्त्री द्धय भवानीप्रसाद खापुङ र बोधमायाकुमारी यादवले पद तथा गोपनीयताको शपथ लिए । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अङ्गका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति लगायतको उपस्थिति थियो ।

समारोहमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्रयादवलगायत उपस्थिति थियो । नवगठित मन्त्रिमण्डलमा ११ जना नयाँ अनुहार हुन् ।

गत असार २९ गते गठन भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार आज चौथो पटक विस्तार भएको हो । सरकार गठन भएकै दिन कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई÷दुई जना मन्त्री भएका थिए । स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ र पछिल्लो पटक परराष्ट्र मन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !