५ जेष्ठ २०८१, शनिबार

संघीय संसदमा राष्ट्रपतिले आज सम्बोधन गर्ने


बिद्या देवी भण्डारी

१५ चैत, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) लाई सम्बोधन गर्दैछिन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन् ।

मन्त्रिपरिषद्को यही चैत १२ गतेको बैठकले पहिलो सम्बोधनका लागि राष्ट्रपति भण्डारीलाई गरेको आग्रहअनुसार सोको तयारीमा नेपाल सरकार, संघीय संसद् सचिवालय र राष्ट्रपतिको कार्यालय जुटेका छन् ।

अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिवाट पहिलो सम्बोधन हुने कार्यक्रमका लागि सो स्थलमा सरसफाइ, सजावट र सुरक्षाको प्रबन्धका लागि संसद् सचिवालयले सबै कार्य पूरा गरेको छ ।

निर्वाचनपछि संसद् सचिवालयले प्रतिनिधिसभाको बैठक कक्षमा दुवै सदनको संयुक्त बैठक हुँदा अट्न सक्ने गरी कुर्सी व्यवस्थापन गरेको थियो । प्रतिनिधिसभामा २७५ र राष्ट्रिसभामा ५९ सदस्य छन् ।

नेपालको संविधानपछि पहिलो पटक गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र माघ २४ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनवाट गठित ती दुवै सदनको संयुक्त बैठकलाई नवनिर्वाचित राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेको पहिलो पटक हो ।

संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्मा राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने कार्यक्रम हुँदै आएकामा संविधानको नयाँ व्यवस्थानुसार निर्वाचनपछि दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुन लागेको हो ।

राष्ट्रपतिले सबै निर्वाचन सम्पन्न गरी नयाँ सरकार गठन भएर मुुलुक स्थिरता र विकासको बाटामा लम्कन खोजेकामा बधाई दिँदै आर्थिक समृद्धिका लागि सबैमा आह्वान गर्ने बुझिएको छ । आगामी आर्थिक वर्षको सरकारको नीति कार्यक्रमका लागि आगामी अधिवेशनमा राष्ट्रपतिवाट अलग्गै सम्बोधन हुनेछ ।

यो पनि पढ्नुहोस्

राष्ट्रपतिले चैत १५ गते संसदमा सम्बोधन गर्नुहुने 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !