१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपतिले चैत १५ गते संसदमा सम्बोधन गर्नुहुने


bidhya-bhandari

१३ चैत, काठमाण्डाै । मन्त्रिपरिषद्को सोमबारको बैठकले यही चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ ।

चुनावपछि दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको यो पहिलोपटक हो ।

सोमबार बालुवाटारमा सम्पन्न बैठकपछि सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रपतिको सम्बोधनबारे जानकारी दिनुभएको हो ।
यसैगरी बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा डा कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकारमा अच्युत मैनालीलाई नियुक्त गरेको छ ।

राज्यमन्त्री बाँस्कोटाका अनुसार घर बहालमा दोहोरो कर नलगाउने रानीजमरा सिँचाइ आयोजनाको जग्गाको क्षतिपूर्ति व्यवस्थापन गर्ने, निर्वाचनका समयमा बम विष्फोटन र महिला हिंसाका घटनामा परी घाइते भएकाहरुको अस्पतालमा लागेको खर्च व्यहोर्ने निर्णय भएको छ ।

यसैगरी बैठकले संघीय संरचनाअनुसार प्रदेश सरकार, प्रदेशसभा र जिल्ला समन्वय समितिका संयोजकसम्मलाई कूटनीतिक राहदानी प्रयोगको व्यवस्था गर्ने, नेपाली सेनाका १३ जना महासेनानीको सेवा अवधि दुई वर्ष थप गर्नेलगायत निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका सम्बन्धमा सञ्चारकर्मीले जिज्ञासा राख्दा राज्यमन्त्री बाँस्कोटाले त्यस विषयले आजको मन्त्रिपरिषद् बैठकमा प्रवेश नपाएको प्रष्ट पार्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !