८ बैशाख २०८१, शनिबार

एमाले भटाभट काम गर्दै जान्छ, तपाईं भटाभट फोटो खिच्दै जानुस्: प्रधानमन्त्रीले


kp oli

कपा एमालेले मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई प्रदान गरेको छ। एमालेले २३ औं मदन-आश्रित दिवसको अवसर पारेर फोटो पत्रकार कार्कीलाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको हो। पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ।

एमालेको प्रचार विभागले आइतबार पार्टी मुख्यालयमा गरेको कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार कार्कीलाई प्रमाणपत्र र पुरस्कार रकम प्रदान गरे।

कार्की अढाइ दशकभन्दा लामो समयदेखि फोटो पत्रकारितामा संलग्न छन्। एमाले पार्टीमा आवद्ध नभए पनि पुरस्कारका लागि आफूलाई छनोट गरेकामा कार्कीले एमालेलाई धन्यवाद दिए।

जवाफमा प्रधानमन्त्री ओलीले एमालेले आफ्ना कार्यकर्तालाई मात्र नहेरी मुलुकका सबै जनताको रेखदेख गर्ने र त्यसमा पार्टीका विरुद्ध लेख्ने पत्रकार पनि पर्ने बताए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले एमालेले गर्ने कामका कारण केही वर्षपछि एमालेका विरुद्ध लेख्ने पत्रकार नै नभेटिने दाबी गरे। उनले मुलुकको विकासका लागि एमालेले कस्ता काम गर्छ भन्ने कुरा जेठ १५ गते सार्वजनिक हुने बजेटबाट देखिने बताए।

ओलीले सम्वोधन गर्दै भने, ‘चन्द्रशेखरजी तपाईं आफ्नो क्यामरामा नयाँ ब्याट्री राख्नुस्। अब एमाले भटाभट काम गर्दै जान्छ, तपाईं भटाभट फोटो खिच्दै जानुस्।’
एमालेले फोटो खिच्ने वर्गलाई मात्र नभएर फोटो धुने वर्गलाई पनि र समाचार लेख्ने वर्गलाई मात्र नभएर समाचार छाप्ने वर्गलाई पनि हेर्ने उनको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !