८ बैशाख २०८१, शनिबार

एमालेमा फेरि लफडा : ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा


भिम रावल, केपी शर्मा ओली र लेखराज भट्ट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्टलाई नै निरन्तरता दिने प्रस्ताव अघि सारेपछि एमालेमा फेरि लफडा उत्पन्न भएको छ भने पार्टी उपाध्यक्ष भीम रावल तनावमा परेका छन् ।

आइतबार बिहान बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले तत्कालिन इन्चार्ज भीम रावललाई उपाध्यक्षको हैसियतमा पार्टीको अन्य कामको जिम्मेवारी दिने भन्दै भट्टलाई नै इन्चार्जको रुपमा काम गर्न दिने प्रस्ताव अघि सारेका हुन् ।

बैठकमा ओलीले पार्टी उपाध्यक्षको हैसियतमा पार्टीलाई २ जेठ २०७५ मा लैजान सुदूरपश्चिममा सहजिकरणको भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए । रावललाई उपाध्यक्षको हैसियतमै र भट्टलाई प्रदेश इन्चार्जको हैसियतमा जिम्मेवारी दिने तयारी गरेपछि एमाले फेरि लफडा उत्पन्न भएको हो ।

यसबारे छलफल गर्न रावलले आफू निकट सांसद र नेताहरुलाई अहिले सिंहदरबार बोलाएका छन् । सुदूरपश्चिम इन्चार्जमा भट्ट र रावल दुवैले दाबी गरेपछि ओलीले आइतबार बिहान आफ्नो निवास भक्तपुरको बालकोटमा उनीहरुसहितको बैठक डाकेका थिए ।

ओलीको प्रस्तावसँगै रावलले आफू अन्यायमा परेको भन्दैं आफू निकट नेतासँग छलफलमा गरेका हुन् । सबै ठाउँमा जेठ २ कार्यान्वयन भए पनि सुदूरपश्चिममा मात्रै किन नहुने भन्दै उनले आफू निकट नेतासँग आइतबार संसद भवनमा समेत छलफल गरेका थिए ।

तर सुदूरपश्चिम इन्चार्ज आफू नै हुनुपर्ने अडान ओलीसमक्ष राखेर रावल बाहिरिएका थिए । एमालेमा देखिएको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनका लागि सुदूरपश्चिममा गठित कार्यदलमा रावल र हालका सुदूरपश्चिम अध्यक्ष कर्ण थापा सामेल छन् ।

सर्वोच्चले गत २३ फागुनमा एमाले ब्यूँताएपछि ओलीले भट्टलाई सुदूरपश्चिम इन्चार्ज बनाएका थिए भने त्यतिबेला रावल माधव नेपाल समूहमा थिए । नेपालको समूहमै विभाजित भएर पार्टी फुट्दा ओलीतिर रहने घोषणा गरेका रावल हाल आएर इन्चार्ज बन्न नपाएकोमा तनावग्रस्त बनेका हुन् ।

गत पुस ५ अघि रावल नै सुदूरपश्चिमका इन्चार्ज थिए । सर्वोच्चको फैसलापछि माओवादी र एमाले छुट्टा छुट्टै दल भएपछि एमालेमा लागेका भट्टलाई नै फागुन २३ गते ओलीले सुदूरपश्चिमको इन्चार्ज तोकेका थिए ।

एमाले विवाद समाधान गर्न र विभाजन टार्न असार २७ मा ओली र माधव नेपाल समूहको १० सदस्यीय कार्यदलले १० बुँदे सहमति तयार गरेको थियो ।नेपालले उक्त सहमति नमान्ने बताएपछि कार्यदलका सबै सदस्यहरू एमालेमै रहेका थिए भने माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी खोलेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !