१३ बैशाख २०८१, बिहिबार

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै


सत्ता गठबन्धनको बैठक

काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ । यी दलबीच शुक्रबार यता दिनहुँजसो मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुँदै आइरहेको छ ।

आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो । बैठक हिजो सोमबार पनि बसेको थियो ।

आजको बस्न लागेको बैठकमा मन्त्रालय बाँडफाँटका विषयमा छलफल हुने जनाइएको छ । यससँगै आजको बैठक मन्त्रिपरिषद् विस्तारबारे सहमति जुटाउने बताईएको छ ।

हिजो सोमबारको बसेको बैठकमा शीर्ष नेताहरुले आज मन्त्रालयको भागबण्डा टुंग्याउने र बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका थिए । सो अनुसार आज बैठक बस्न लागेको बालुवाटार स्रोतको दावी रहेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल थालिएको हो । एकीकृत समाजवादी पनि देउवा सरकारमा सहभागी हुने भएको छ ।

अहिले सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा छन् । राष्ट्रिय जनमोर्चाले भने देउवा सरकारमा नजाने निर्णय गरिसकेको छ ।

हालसम्म कांग्रेसबाट एक राज्यमन्त्रीसहित २ मन्त्री, माओवादीबाट २ जना मन्त्री मात्रै छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले नयाँ पार्टी गठन गर्दै दर्ता गरिसकेकोले अब मन्त्रिपरिषद बिस्तार गर्न लागिएको हो । यसअघि नेपालकै कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलो भएको थियो ।

सत्ता गठबन्धनका ५ दल दलहरुवीच कसले कति मन्त्रालय पाउने भन्नेबारे छलफल टुंगो लागिसकेको छैन । यद्यपि सत्तारूढ गठबन्धनकै राष्ट्रिय जनमोर्चाले यसअघि नै सरकारमा नजाने भनेर प्रष्ट पारिसकेकोले ४ दल मात्र सरकारमा जाने देखिन्छ ।

सत्ता गठबन्धनमा सहमति नजुट्दा लामो समयसम्म सरकारले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री भएको डेढ महिना भइसक्दा पनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता नसकेको भनेर उनको आलोचना हुँदै आएको छ ।

नेपाली काँग्रेस र माओवादीवाट यसअघि मन्त्री बनेर सरकारमा सहभागी भईसकेकोले थप यी दुई पार्टीवाट अन्य सांसदलाई मन्त्रिमण्डलमा पठाउनु पर्नेछ भने नेकपा (एकीकृत समाजवादी) र जसपा नेपाल पहिलोपटक देउवा सरकारमा सहभागी हुने तयारी गरेका हुन् ।

साथै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि साउन ३ गते प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए । उनीहरू पनि सरकारमा जाने वा नजाने भन्ने टुंगो लागिसकेको छैन ।

सरकार विस्तारमा भएको ढिलाइका विषयमा सत्तारूढ गठबन्धनमा नै असन्तुष्टि देखिएको छ । गठबन्धनमा आबद्ध दलहरूबीच भागबन्डामा सहमति हुन नसक्दा डेढ महिना बित्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

मन्त्रिपरिषद् विस्तार र भागबन्डामा सहमति गर्न भन्दै सोमबार साँझ बसेको बैठकमा समेत मन्त्रालयको भागबन्डामा कुरा नमिलेपछि गठबन्धन आबद्ध शीर्ष तहका नेताहरू नै असन्तुष्ट बनेका हुन् ।

यो पनि पढ्नुहोस्

देउवाले मन्त्रिपरिषद् विस्तार नगर्दा गठबन्धनका नेताहरु नै असन्तुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !