१३ आश्विन २०८१, आइतबार

महन्थ ठाकुरको नयाँ पार्टीमा राजेन्द्र महतो बने वरिष्ठ नेता


राजेन्द्र महतो

काठमाडौँ । लामो रस्साकस्सी पछि अन्तत: जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । जसपाको उपेन्द्र यादव पक्षको कारबाहीमा परेका महन्थ ठाकुरले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

ठाकुर पक्ष विभाजन भएर बनेको नयाँ पार्टीको नाम ‘जसपा नेपाल (लोकतान्त्रिक)’ राखिएको छ भने चुनाव चिन्ह ‘साइकल’ राखिएको छ । साथै पार्टीको झण्डामा तीन रंग रहनेछ । नवगठित पार्टीमा पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् ।

नवगठित सो पार्टीमा २४ जनाको कार्यकारिणी समिति बनाइएको छ भने २४ जनामध्येबाट छिट्टै पदाधिकारी गठन गरिने वरिष्ठ नेता महतोले जानकारी दिए । आफूहरुको पार्टीमा प्रतिनिधि र राष्ट्रिय सभाका गरी १५ सांसद रहेको पनि महतोले बताए ।

राष्ट्रपति भण्डारीले आज बुधबार दिउसो राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेसँगै निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि जसपाको ठाकुर पक्षले निवेदन दिएको हो । राष्ट्रपतिले यो अध्यादेश जारी गरेसँगै नेकपा (एमाले) को ठाकुर पक्षलाई पार्टी विभाजनको लागि सहज भएको हो ।

राजनीतिक दल विभाजन सम्बन्धी शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेश जारी गर्नको लागि हिजो राष्ट्रपति कार्यालय शीतल निवास पुगेको थियो । हिजो बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । तर सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

यो पनि पढ्नुहोस्

अन्तत: फुट्यो जसपा पनि, दल दर्ताको लागि ठाकुरले दिए आयोगमा निवेदन

ठाकुरले दर्ता गर्ने दलको नाम ‘जसपा नेपाल (लोकतान्त्रिक)’, चुनाव चिन्ह ‘साइकल’ !

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै आयोगमा आजै दुई नयाँ दल दर्ताको तयारी

अध्यादेश जारी भएसँगै दल दर्ताको लागि आयोग जाने तयारीमा महन्थ ठाकुर पक्ष

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !