५ जेष्ठ २०८१, शनिबार

एमाले अब वार कि पारको अवस्थामा पुगेको माधव नेपालको स्पष्टोक्ति


माधव नेपाल

काठमाडौँ । प्रमुख प्रतिपक्ष दलको नेकपा एमालेको वरिष्ठ नेता भएतापनि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई साथ दिएका माधवकुमार नेपालले पार्टी अव वार कि पारको अवस्थामा पुगेको स्पष्ट रुपमा बताएका छन् ।

हिजो शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी एकता र विभाजनको दोबाटोमा पुगेको बताएका थिए ।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी गतिविधि एकता विरोधी रहेको बताएका थिए । ओलीले एकपछि अर्को एकलौटी काम गरिरहेकाले पार्टी एकताको आधार कमजोर हुँदै गएको उनको भनाई रहेको थियो ।

उनले ओलीले पार्टीको विधान संशोधन गर्ने भनेपछि पार्टी एकताको कुरा गर्नेहरू पनि छ्याङ्ग भएको टिप्पणी गरेका थिए । उनले आफूले एकता चाहिरहेको तर पार्टी अध्यक्ष ओलीले विभाजन चाहेको उल्लेख गरेका थिए ।

उनले एकताको कुरा गर्ने वामदेव गौतमले विधान संशोधन गरेर नेकपा एमालेको अध्यक्षलाई कसैलाई पनि गद्दार घोषणा गर्ने अधिकार अध्यक्षलाई रहने भन्ने कुरा थप गर्न सुझाएको कुरा स्मरण गराएका थिए ।

उनले जब ओलीलाई पार्टीको विधिमा बाँध्न खोज्दा सरकारको काम राम्रोसँग गर्नुहोस् भनेर सुझाव दिँदा मन नपरेको बताएका थिए । ओलीले माधव नेपाल जस्तालाई एमालेमा ठाउँ छैन भनिरहेको तर एकताको कुरा गर्ने साथीहरूले सबै निर्णय खारेज हुन्छ भने पनि अहिलेसम्म कुन निर्णय खारेज भयो भनेर उनले प्रश्न गरेका थिए ।

केपी ओलीका महासचिवले आउने आउँछन् जाने जान्छन् पार्टी अगाडि बढ्छ भन्ने गरेको पनि नेता नेपालले बताएका थिए । त्यस्तो अवस्थामा लुरुक्क परेर ओलीको टाङमुनि नछिर्ने बरु क्रान्तिकारी ढङ्गले पार्टीलाई अगाडि बढाउने बताएका थिए ।

नेता नेपालले ओलीले किन विधान संशोधनको प्रस्तावको नियत बुझ्न कुनै गाह्रो नभएको बताउँदै जथाभाबी रूपमा पार्टीमा पदाधिकारी नियुक्त गरेबाटै प्रस्ट हुने बताए । ओलीको नियत छर्लङ्ग भएको बताउँदै अहिलेसम्मको समस्याको कारण ओली कि हामी भन्दै उनले प्रश्न गरेका थिए ।

दुई नेताको झगडाको विषय मात्रै भएको भए बामदेव गौतमले किन विधानमा त्यस्तो कुरा थप्न भनेको ? नेकपा कालमै बहुमत स्थायी समितिले किन ओलीको राजीनामा मागेको ? भन्ने प्रश्न गर्दै त्यसपछि पनि ओलीमा सुधार नभएको बताएका थिए । उनले ओलीको अत्याचार सहने अवस्था नभएको बताउँदै ओलीसमक्ष आत्मसमर्पण नगर्ने तर पार्टीलाई रूपान्तरण गरेर अघि बढ्ने बताए ।

उनले एमालेमा समानान्तर नेतृत्वलाई तीब्रता दिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आन्तरिक संघर्ष जारी राख्ने रणनीति आफ्नो समूहको रहेको संकेत गरेका थिए । उनले पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाईमा रहेको बताउदै ओलीलाई अल्टिमेटमको भाषा अभिव्यक्त गरेका थिए ।

उनले पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने अडान पनि राखेका थिए । उनले पार्टी एकताका लागि अझै पनि कोसिस गर्ने समेत बताएका थिए । उनले गलत प्रवृत्तिका विरुद्ध नझुक्ने बरु निरन्तर संघर्ष गर्दै अघि बढ्ने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !