५ जेष्ठ २०८१, शनिबार

‘निर्वाचनका लागि समन्वय र सहकार्य आवश्यक छ’


निर्वाचन आयोग

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनका लागि सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय र सहकार्य अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।

निर्वाचन सञ्चालन एवम् व्यवस्थापनमा सहकार्य र समन्वय सम्बन्धमा निर्वाचन आयोगमा जिल्ला समन्वय समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसँगको अन्तरक्रियामा उनले हिजो आगामी दिनका सहकार्यको खाँचो औलाए ।

प्रमुख आयुक्त थपलियाले भने, “निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा समन्वय र सहकार्यको भावी रणनीतिका लागि प्रतिवेदन तयार गर्न आयोगबाट सचिवसहित तीन तथा प्रत्येक सङ्घ महासङ्घबाट जनप्रतिनिधि एक/एक र कर्मचारी एक/एकको कार्यदल गठन गर्नसमेत निर्देशन दिए ।

कार्यक्रममा सहभागीले व्यवस्थित र नियमित मतदाता नामवली सङ्कलन, सहज र सुगम मतदानस्थल एवम् मतदान केन्द्रको व्यवस्था, निर्वाचन कार्यालयको भौतिक संरचना, मतदाता शिक्षाको प्रभावकारिता, मितव्ययी र प्रविधिमैत्री निर्वाचनमा जोड दिए । उनीहरुले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार प्रयोग गर्ने सम्बन्धमा आयोगको ध्यानाकर्षण गराएका थिए ।

लोकतन्त्रको संस्थागत विकास एवम् सुदृढीकरणका लागि निर्वाचन आधारशिला रहेको जनाउँदै सहभागीले निर्वाचनसम्बन्धी आयोगको हरेक कार्यमा समन्वय र सहकार्यका लागि प्रतिबद्धता व्यक्त गरे । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले कार्यक्रमको उद्देश्य र सचिव सुरेश अधिकारीले स्थानीय तहसँग सो अवसरमा सहकार्य र समन्वयका सन्दर्भमा भएका संवैधानिक व्यवस्था, कानुनी व्यवस्था, सहयोग एवम् समन्वयका क्षेत्र र आयोगबाट भइरहेका गतिविधिहरूका सन्दर्भमा सङ्क्षिप्त प्रस्तुतीकरण गरिन् ।

निर्वाचन आयुक्त, महासङ्घ तथा सङ्घबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, कार्यकारी निर्देशक तथा प्रतिनिधि सहभागी हुनुभएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !