१३ बैशाख २०८१, बिहिबार

माधव नेपाल भन्छन्- पार्टी एकताका लागि तयार छौं तर सम्मानजनक हुनुपर्छ


माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको बताएका छन् । आज बिहीबार आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै नेता नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको तर सम्मानजनक एकता हुनुपर्ने बताए ।

बैठकको अध्यक्षता गर्दै नेता नेपालले एजेन्डामा आफूहरुले केपी ओलीलाई जितेको बताएका थिए । बैठकमा नेता नेपालले एकतालाई जोगाउन अहिलेसम्म भएका प्रयाससँगै अन्तिमसम्म प्रयास एकताको प्रक्रिया र वार्ता अघि बढिरहेको बताए ।

एमालेका वरिष्ठ नेता नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरूको बैठक आजदेखि काठमाडौँमा शुरु भएको हो । बैठकले आफ्नो पक्षको आगामी रणनीति तय गर्ने जनाइएको छ ।

बैठक बस्नु अघि सोही पक्षीय स्थायी कमिटीका सदस्यहरूको बैठक पनि बसेको थियो । काठमाडौँको बुद्धनगरमा ७० भन्दा बढी सदस्य सहभागी बैठकमा अहिले केन्द्रीय सदस्यले पार्टीमा देखिएको समस्या र पार्टी एकताका विषयमा धारणा राखिरहेका बैठकमा सहभागी नेता झपटबहादुर रावलले जानकारी दिए ।

नेपाल समूहले पार्टीभित्रको एकता, अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समयमा गरेका निर्णय र सरकारमा सहभागिताका विषयमा छलफल गर्न बैठक बोलाएको जनाएको छ । उनका अनुसार बैठकको शुरुमा पार्टीका वरिष्ठ नेता नेपालले समसामयिक विषयमा भनाइ राखेको र त्यसपछि उपाध्यक्ष डा. भीम रावलले पार्टी एकताका विषयमा आन्तरिक समस्या समाधानका लागि बनेको कार्यदलले गरेको सहमति र प्रयासबारे जानकारी गराएका थिए ।

नेता झपटबहादुर रावलले एमालेलाई सुदृढ र सवल कसरी बनाउने भन्ने विषयमा नै बैठक केन्द्रित भएको र पार्टी तथा कम्युनिष्ट आन्दोलन कमजोर बनाउनका लागि भइरहेका गतिविधिको कसरी मुकाविला गर्ने भन्ने सम्बन्धमा छलफल केन्द्रित रहेको जानकारी दिए ।

उनले एमालेको नवौँ महाधिवेशनले पारित गरेको राजनीतिक, साङ्गठनिक प्रतिवेदन र विधान अनुसार नै पार्टी अघि बढाउनुपर्ने आफूहरूको महत्वपूर्ण शर्त रहेको उल्लेख गरे । नेतृत्वले पछिल्लो चरणमा गरेका कमीकमजोरीलाई सुधारेर विधानअनुसार नै पार्टी अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।

केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीलाई एकताबद्ध बनाउने कुरामा नै बैठक केन्द्रित रहेको तर आत्मसमर्पण गरेर भने एकता नहुने जिकिर गरिन् ।

यसअघि पार्टीको स्थायी कमिटी बैठकले विधान अधिवेशन, पालिका तथा वडाधिवेशनको मिति तय गरेको थियो । बैठकको निर्णय अनुमोदनका लागि यही साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाइसकेको अवस्थामा नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरूको बैठक बसेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !