४ बैशाख २०८१, मंगलबार

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक अचानक स्थगित


माओवादी संसदीय दलको बैठक फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक एकाएक स्थगित भएको छ । बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नुपर्ने भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठक स्थगित गर्नुपर्ने भन्दै स्थायी समिति सदस्यहरुलाई जानकारी गराएका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनका विषयमा प्रधानमन्त्री देउवासँग गम्भीर छलफल गर्नुपर्ने देखिएको भन्दै आज तय गरिएको बैठक स्थगित गरिएको एक स्थायी कमिटीका सदस्यले बताए । प्रधानमन्त्री देउवाले आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

आज बस्न लागेको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्ने विषयमा छलफल हुने बुझिएको थियो । माओवादीवाट शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री रहेका छन् ।

शर्मा अर्थ मन्त्री रहेका छन् भने भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी दिएको छ । माओवादीले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।

माओवादीमा आकांक्षी धेरै देखिएपछि मन्त्री छनोट सकसपूर्ण बनेको छ । माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले माओवादीका सवै ४९ जना सांसदलाई मन्त्री पद चाहिएकोले आफूलाई सकस परेको सार्वजनिक रुपमै बताएका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसलाई श्रावण ९ गते शनिबार सम्बोधन गर्दै उनले पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आदर्शबाट विचलित हुँदै गएकामा चिन्ता व्यक्त गरेका थिए । उनले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताएका थिए ।

माओवादीबाट मन्त्रीका लागि नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे, शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल लगायतको नाम चर्चामा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !