६ बैशाख २०८१, बिहिबार

एमालेमा बाटो बिराएका सबैलाई आममाफी दिने ओलीको घोषणा


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकाएक नरम रणनीति अपनाएर बाटो बिराएका सबैलाई आममाफी दिने घोषणा गरेका छन् । साथै ओलीले सँगै मिलेर काम गर्ने समेत बताएका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘बाटो बिराएका भडि्कएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड ।’

ओलीले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह गरेका छन् । उनले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न पनि आह्वान गरे । ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ,’ उनले भने, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’

गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ जना सांसदले फ्लोर क्रस गर्दै विश्वासको मत दिएपछि सोही विषयलाई लिएर एमालेले स्पष्टीकरण सोधेको थियो ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी समेत गरेका छन् । सम्भवत: उनीहरुले जवाफ पठाउनले तयारी गरेका छन् ।

तत्कालीन नेकपा रहँदा साधारण सदस्यबाटै आफूलाई निस्कासन गरिएको स्मरण गर्दै ओलीले भने, ‘अब त्यो बाटोमा नजाऊँ, हामी सबै एकसाथ अघि बढौँ । आउनुस् मिलेर काम गरौं ।’

ओलीले एमालेलाई कसैले रोक्न नसक्ने बताए । पुष्पलालले रोपेको र मदन भण्डारीले स्याहार सुसार र प्रवलीकरण गरेको भन्दै उनले भने, ‘यो कर्कलोको पातको पानी होइन, कसैले हल्लाउँदैमा भुँइमा खस्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !