३० कार्तिक २०८१, शुक्रबार

विश्वासको मत दिने निर्णय गर्ने सबैलाई धन्यवाद दिने काँग्रेस संसदीय दलको निर्णय


नेपाली काँग्रेसले बोलायो संसदीय दलको बैठक फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको पहिलोपटक नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको काँग्रेस संसदीय दलको बैठक सकिएको छ ।

आज बसेको बैठकले नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रधानमन्त्री देउवाले आजै संसद्मा विश्वासको मत लिँदैछन् ।

बैठकले विश्वासको मत दिने निर्णय गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एमालेका सांसदहरू, जनता समाजवादी पार्टी (उपेन्द्र यादव) पक्ष, राष्ट्रिय जनमोर्चाका सांसदहरुलाई धन्यवाद दिने पनि निर्णय गरेको छ ।

बैठकले आज आइतबारको लागि बोलाइएको प्रतिनिधिसभाका बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेको छ । सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभालाई दोस्रो पटक पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !