काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको संसदीय दलको बैठकको बैठक बोलाएका छन् । माओवादी केन्द्रले भोलि आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको हो ।
बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरुको सहभागिताका विषयमा पनि छलफल हुने एक सांसदले बताए । भोलि नै नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पार्टीको संसदीय दलको बैठक बोलाएका छन् ।
काँग्रेस संसदीय दलको बैठक भोली आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको पहिलोपटक बैठक बस्न लागेको हो ।
नेकपा एमालेलाई १० बुँदे सहमितका आधारमा नै पार्टीलाई एकताबद्ध बनाइने निष्कर्ष निकालेलगतै नेता माधव नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर पुगेका थिए । दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बुझिएको छ ।