१४ बैशाख २०८१, शुक्रबार

माधव नेपाल समूह विना नै ओली समूहले गर्यो यतिठुलो निर्णय


केपी शर्मा ओली

काठमाडौं । नेकपा एमाले सर्वोच्च अदालतको फैसलापछि पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्ष नआए पनि अघि बढ्ने नीति लिएको छ । आज मात्रै नेपाल समूहको अनुपस्थितिमा च्यासलस्थित तुल्सीलाल भवनमा स्थायी कमिटी बैठक बसेको थियो ।

बैठक सुरु भएको करिब आधा घण्टापछि खनाल–नेपाल समूहका कार्यदलमा रहेका नेताहरु भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य बैठक रोक्न माग गर्दै बैठकस्थल पुगेका थिए ।

स्थायी कमिटी बैठक चलिरहेका बेला वरिष्ठ नेता माधव नेपाल समूहका नेतारुले बैठक रोक्न आग्रह गर्दै बैठकस्थल पुगेका थिए । बैठक चलिरहेका बेला नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए । नेपालपक्षका नेता भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य बैठकस्थल पुगेका थिए ।

बैठक स्थगित गरेर सहमति खोज्न आग्रह गरे पनि ओलीले बैठक रोक्न नेपाल पक्षले गरेको आग्रह अस्वीकार गरे । पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका नेपाल समूहका नेताहरु च्यासलमा पुगेर बैठक रोक्न आग्रह गरेका थिए । तर ओलीले अस्वीकार गरे ।

बैठक रोक्न अस्वीकार गरेपछि नेपाल समूहका नेताहरु फर्किए । बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल पक्षको आग्रहमा बैठक रोकिएको तर अब बैठक रोक्न नसक्ने बताए ।

बैठकले विवाद समाधान गर्न गठित कार्यदल भंग भएको छ । बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको हो । ललितपुरस्थित् तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको हलमा बसेको बैठकले कार्यदलले अघि सारेको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै उक्त कार्यदल भंग गरेको हो ।

बैठकले सरकारको विपक्षमा उभिनको लागि पार्टी पँक्तिलाई निर्देशनसमेत दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने पनि निर्णय गरेको छ । आजै एमाले संसदीय दलको बैठक बस्दैछ । बैठक आज अपरान्ह ३ बजे संसद् भवनस्थित् ल्होत्से हलमा बस्ने जनाईएको छ ।
बैठकका निर्णयहरू निम्नानुसार रहेकाे पार्टी प्रवक्ता प्रदीप ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ :

१ साउन, २०७८

प्रेस वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटीको बैठक आज २०७८ साउन १ गते अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल ललितपुरमा सम्पन्न भयो । बैठकलाई सम्वोधन गर्दै अध्यक्ष कमरेड ओलीले सर्वोच्च अदालतको फैसलासँगै अब पार्टीले प्रमुख प्रतिपक्षका रुपमा रहेर देश, जनता र लोकतन्त्रको पक्षमा सशक्त र प्रभावकारी भूमिका खेल्ने बताउनु भयो ।

बैठकले देहायका विशेष प्रस्तावहरू पारित गरेको छ–

१. सर्वोच्च अदालतको फैसलाका सम्बन्धमा पार्टी दृष्टिकोण

२०७८ असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा गरिएको फैसलाले नेपालको संविधानको अक्षर र भावना, हामीले अवलम्बन गरेको बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली, शक्ति पृथकीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त तथा सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहीत रहेको संविधानको आधारभूत प्रस्थापनालाई अतिक्रमण गर्दै तिनलाई कमजोर तुल्याएको छ ।

मुलुकको सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा निहीत रहनु लोकतन्त्रको सर्वाधिक महत्वपूर्ण पक्ष हो । जनतामा निहीत सार्वभौमसत्ता र राजकीयसत्ता अभिव्यक्त हुने सबैभन्दा महत्वपूर्ण माध्यम भनेकै आवधिक निर्वाचनमार्फत् जनताका प्रतिनिधिहरू चयन हुनु र उनीहरूमार्फत् मुलुकको शासन व्यवस्था सञ्चालित हुनु हो । तर ताजा जनादेशका लागि जनतामा जाने निर्णयलाई ‘निरङ्कुश’ भनेर आरोपित गर्ने र कानुनको अपव्याख्या एवं दलीय प्रणालीको आधारभूत संरचना भत्काएर सरकार बन्ने कुरालाई चाहिँ लोकतान्त्रिक भन्ने गलत परिभाषाले लोकतान्त्रिक प्रणालीलाई गलत दिशातिर धकेलेको छ ।

नियन्त्रण र सन्तुलनको सिद्धान्त बमोजिम राज्यका सबै अङ्गबीच समन्वय हुन सकेमा मात्रै र सबै आ–आफ्नो सीमाभित्र मर्यादित र संयमित रहन सकेमात्रै लोकतान्त्रिक प्रणाली सुरक्षित र गतिशील हुन सक्छ । लोकतन्त्रका आधारस्तम्भका रुपमा रहेका राज्यका तीनवटा अङ्गबीचको सन्तुलन सर्वोच्च अदालतको यो फैसलासँगै नराम्रोसँग खलबलिन पुगेको छ ।

आठ दशकभन्दा लामो समयदेखि सञ्चालित नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा प्रमुख माग पार्टी स्वतन्त्रता र बहुदलीय पद्धतिको स्थापना थियो । विचारधारा, दर्शन र कार्यक्रम मिल्ने व्यक्तिहरू मिलेर दल खोल्न पाउने, त्यस्ता दलहरू आफ्ना कार्यक्रम लिएर जनताबीच जाने र जन्मजात श्रेष्ठताको सामन्ती परम्पराका आधारमा होइन, जनताबाट अनुमोदित दल या दलहरूले मुुुलुकको शासन सञ्चालन गर्ने प्रणाली स्थापनाका लागि अनगिन्ती शहीदहरूले जीवन आहुति दिनुभएको छ । निर्वाचनमा दलले व्यक्तिलाई उम्मेदवारको रुपमा मनोनयन गर्छ । जनताले दलका उद्देश्य, घोषणापत्र र काम हेरेर आफ्नो अभिमत प्रकट गर्छन् । तर यसरी पार्टीबाट उम्मेदवार बनेका र दलको चुनाव चिह्न एवं घोषणापत्रका आधारमा जनताले निर्वाचित गरेका प्रतिनिधिहरूले सरकार बनाउने बेलामा चाहिँ जो कसैलाई समर्थन गर्न सक्छन्, जो कसैलाई भोट हाल्न सक्छन्, फ्लोर क्रस पनि गर्न सक्छन्, त्यसो गर्दा दलको कुनै ह्वीप लाग्दैन र उनीहरूमाथि कुनै कार्बाही गर्न पाइँदैन भन्ने व्याख्या हाम्रो दशकौं लामो सङ्घर्ष, दलीय आस्थाका लागि चुकाएको मूल्य र दलीय प्रणालीको आधारभूत प्रस्थापनामाथिकै प्रहार हो । एउटै दलका सदस्यहरू सत्ता र प्रतिपक्ष बन्ने परिकल्पना कुनै पनि लोकतान्त्रिक प्रणालीले गर्दैन ।

निश्चित व्यक्तिका निश्चित आकाङ्क्षा परिपूर्तिका लागि गरिएको संविधानको यस्तो अपव्याख्याले वस्तुतः संविधानको अप्रत्यक्ष संशोधन गरेको छ ।

राजनीतिक प्रश्नहरूको फैसला गर्ने मुख्य जिम्मेवारी दलहरूको हो । सार्वभौमसत्ता सम्पन्न जनताको हो । त्यसैले राजनीतिक प्रश्न जोडिएका मुद्दाहरूमा अदालतको अधिकतम संयमको अपेक्षा गरिन्छ । अत्यधिक न्यायिक सक्रियता अनपेक्षित विषय हो । राजनीतिक प्रश्नमा प्रवेश नगर्ने भनेर विगतमा अदालत स्वयंले स्थापित गरेका नजिर पनि कायमै छन् । तर सन्दर्भ नै नउठेका, मागदाबी नै नभएका र संविधानले परिकल्पना नगरेका विषयमा समेत राजनीतिक फैसला गरेर आग्रह मात्रै देखाउने काम भएको छ । यस्ता क्रियाकलापले राज्यका सम्बन्धित अङ्गको निष्पक्षता, पवित्रता र स्वच्छतामा ह«ास ल्याएको छ । दोहोरो मापदण्डले संस्थाको विश्वसनीयता माथि प्रश्न उठाएको छ ।

यस फैसलाबाट सिर्जित राजनीतिक विकृतिहरूको मूल्य नेपालको लोकतान्त्रिक प्रणालीले भविष्यमा लामो समयसम्म चुकाउनुपर्ने आशङ्काका कारण नेकपा (एमाले) गम्भीर र चिन्तित छ ।

नेकपा (एमाले) संविधानको सर्वोच्चता, विधिको शासन र स्वतन्त्र न्यायपालिकामाथि विश्वास गर्ने पार्टी हो । तसर्थ फैसलाका कतिपय प्रश्नहरूप्रति हाम्रो आलोचना, विमति र गहिरो आशङ्का भए पनि फैसलालाई कार्यान्वयन गर्ने कुरामा भने पार्टी स्पष्ट छ । त्यसै अनुसार नै फैसला कार्यान्वयन भइसकेको तथ्य पनि सबैका सामू छ ।

फैसलाका विभिन्न पक्षलाई लिएर पार्टीले जनतामाझ आफ्ना दृष्टिकोण, मान्यता र अवधारणाहरू बारे बहस सञ्चालन गर्ने छ ।

२. नेकपा (एमाले) मा विद्यमान समस्या समाधान सम्बन्धी हाम्रा प्रयासका बारेमा

विगत लामो समयदेखि पार्टीभित्र उत्पन्न समस्या समाधान गर्न यसबीचमा हामीले लामो, अथक एवं अधिकतम् लचकताका साथ प्रयास ग¥यौं । यसका लागि औपचारिक र अनौपचारिक भेटघाट, छलफल तथा समस्या समाधानका लागि अनेकौं पहल भए । समाधान खोज्ने प्रयोजनका निम्ति कार्यदल गठन गरियो । साथीहरूका आग्रहमा पार्टीभित्र सहज वातावरण निर्माण गर्न भनेर पटक–पटक बैठक समेत स्थगन गरिए । पार्टीको तर्फबाट समस्या समाधानका लागि भएका यी प्रयासहरूलाई समेत स्मरण गर्दै बैठकले निम्न निर्णय गरेको छ ।

(क) पार्टीमा विद्यमान समस्या समाधान सम्बन्धमा सुझाव दिन गठित कार्यदलले तयार गरी बैठक समक्ष प्रस्तुत गरेको प्रस्तावलाई ग्रहण र अनुमोदन गर्ने ।
(ख) प्रस्तावलाई सिर्जनात्मक र रचनात्मक ढङ्गले कार्यान्वयन गर्ने ।
(ग) कार्यदलले आफ्नो जिम्मेवारी पूरा गरेकोमा कार्यदलमा रहनुभएका कमरेडहरूलाई धन्यवाद दिने र कार्यदल विघटन गर्ने ।

३. नेकपा (एमाले) नेतृत्वको सरकारलाई धन्यवाद ज्ञापन

२०७४ साल फागुन ३ गते पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकार करिब ४१ महिना पूरा गरेर सर्वोच्च अदालतको परमादेशबाट यही २०७८ असार २९ गतेबाट बिदा भएको छ । यस अवधिमा सरकारले संविधानको कार्यान्वयन गर्ने, सङ्घीयता सुदृढ गर्ने, सामाजिक न्यायको प्रवद्र्धन गर्ने, राष्ट्रियताको सम्बद्र्धन गर्ने, नेपालको बाह्य सम्बन्धलाई सशक्त र प्रभावकारी बनाउने, विभिन्न असहमत पक्षहरूलाई राष्ट्रिय अखण्डता, शान्तिपूर्ण मूलप्रवाह र संवैधानिक दायरामा ल्याएर राजनीतिक द्वन्द्वको अन्त्य एवं दिगो शान्तिको स्थापना गर्ने, भूकम्पपछिको पुनर्निर्माण सम्पन्न गर्ने, कोभिड महामारीको प्रभावकारी सामना गर्ने, मुुलुकको सामाजिक–आर्थिक रुपान्तरण तथा विकास गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा उल्लेखनीय कामहरू गरेको छ । प्रारम्भदेखि नै पार्टीभित्र तथा बाहिरबाट सिर्जित असहयोग, घेराबन्दी तथा षड्यन्त्रहरूलाई गरिएका यी कामहरू ऐतिहासिक महत्वका छन् । यसका लागि पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उहाँ नेतृत्वको सरकारलाई पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गर्ने ।

४. पार्टीको अबको भूमिकाका सम्बन्धमा

देशप्रति जिम्मेवार र राष्ट्रियताको पहरेदार, लोकतन्त्र र संविधानको रक्षक एवं जनताको हितप्रति अटल रहँदै अब नेकपा (एमाले) ले सक्रिय र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने छ । अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरूलाई यस निर्णयको पालनाका लागि निर्देशन दिने ।

प्रदीप ज्ञवाली
प्रवक्ता

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !