७ बैशाख २०८१, शुक्रबार

मन्त्रीहरुको नाम टुंगो लगाउन जसपाको यादव पक्षको बैठक बस्दै


उपेन्द्र यादव-बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षको बैठक बस्दै छ । सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सरकारमा जसपाको यादव-भट्टराई पक्षवाट सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन बैठक बस्न लागेको हो ।

देउवा नेतृत्वको बन्न लागेको सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक दिउँसो १ बजे बस्ने भएको हो । जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने चर्चा भए पनि अहिलेसम्म टुंगो लागिसकेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सकेसम्म आजै जसपालाई समेत समेटेर सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी गरेका छन् । देउवाले आज साँझ ५ बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । आज बिहानैदेखि सरकारमा कस-कसलाई पठाउने भन्ने बारेमा निर्णय गर्न कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु व्यस्त रहेका छन् ।

हिजो सोमबार सर्वोच्चले आज मंगलबार अपरान्ह ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन आदेश दिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति देउवालाई आज मंगलबार प्रधानमन्त्री नियुक्त गर्ने भएकी छन् ।

अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न हिजो सोमबार परमादेश दिएपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति र शपथबारे देउवालाई जानकारी गराएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !