११ बैशाख २०८१, मंगलबार

यी हुन् माओवादीवाट पहिलो चरणमा मन्त्री हुने सम्भावित नेताहरु


जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पाैडेल, पम्फा भुसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका नेपाली काँग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाको सरकारमा माओवादी केन्द्रवाट सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको हो ।

सर्वोच्चले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि बदलिएको राजनीतिक परिदृश्यबारे छलफल गर्न बिहान ९ बजे बोलाइएको बैठक स्थायी कमिटीको बैठक जारी रहेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा समेत भइरहेको छ ।

कांग्रेस सभापति देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने र विपक्षी गठबन्धनलाई समेत समेटेर सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । देउवाको नेतृत्वमा आज बन्ने सानो आकारको मन्त्रिमण्डलमा मन्त्री पठाउनका लागि माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको हो ।

माओवादी विशेष स्रोतका अनुसार आज माओवादी केन्द्रबाट २ जना मन्त्रीले सपथ लिने सम्भावना छ । माओवादीबाट पहिलो चरणमा मन्त्री बन्नका लागि जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पाैडेल, पम्फा भुसाल लगायतका नेताको नाम अग्रपंक्तिमा रहेको छ ।

विगतमा केपी ओली नेतृत्वको सरकारमा सहभागी नभएकामध्येबाट आज मन्त्री बनाउनेबारे पार्टीमा छलफल भईरहेको बुझिएको छ । पाैडेल अहिलेसम्म मन्त्री बन्न नपाएका माओवादीका सिनियर नेता भएकोले उनको प्रवल सम्भावना रहेको छ ।

हिजो सोमबार सर्वोच्चले आज मंगलबार अपरान्ह ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन आदेश दिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति देउवालाई आज मंगलबार प्रधानमन्त्री नियुक्त गर्ने भएकी छन् ।

अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न हिजो सोमबार परमादेश दिएपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति र शपथबारे देउवालाई जानकारी गराएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !